महिला साफ च्याम्पियनसिप : सेमिफाइनल खेल आज हुँदै

नेपाल र श्रीलंका, भारत र बंगलादेश भिड्दै
372
  •  
  •  
  •  

काठमाडौं, ६ चैत(ओएनएस) : विराटनगरमा जारी पाँचौ महिला साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनल खेल आज हुँदैछ । पहिलो सेमिफाइनलमा नेपाल र श्रीलंका तथा दोस्रो सेमिफाइनलमा भारत र बंगलादेश आमने सामने हुने छन् ।

नेपाल समूह ए को विजेताको हैसियतमा सेमिफाइनल प्रवेश गर्दा श्रीलंका समूह बी को उप विजेता बनेको थियो । यसैगरी समूह बी बाट विजेता बनेको भारत र समूह ए को बंगलादेश उप विजेता बनेको थियो ।

शहीद रंगशालामा हुने सेमिफाइनलका विजेताले उपाधिका लागि भिड्नेछन् । समूह चरणमा नेपालले भुटान र बंगलादेश माथि ३–० को जित निकाल्न सफल भएको थियो ।

श्रीलंका विरुद्धको खेलमा नेपालले विपक्षीलाई कमजोर रुपमा नलिएको कप्तान निरु थापाले बताएकी छिन् । नेपाल र श्रीलंकाबीचको खेल बिहान ११ बजेदेखि शुरुहुने छ ।

यस्तै लगातार पाँचौं उपाधि उचाल्ने होडमा रहेको भारतको प्रदर्शन यस पटक पनि उच्च रहेको छ । समूह चरणमा फराकिलो जित निकालेकाले पनि बुधबार नै हुने दोस्रो सेमिफाइनलमा बंगलादेशविरुद्ध पनि समूह चरणको जस्तै प्रदर्शन गर्ने अपेक्षा गरिएको छ ।

भारत र बंगलादेशबीचको खेल दिउँसो ३ बजेपछि सुरु हुने छ ।


  •  
  •  
  •