सुरक्षित गर्भपतन सेवा सञ्चालन

172
  •  
  •  
  •  

बर्दिया, ९ साउन (ओएनएस) :  नेपाल परिवार नियोजन संघ बर्दियाले सुरक्षित गर्भपतन सेवा सञ्चालनमा ल्याएको छ । बच्चा जन्माउन नचाहने गर्भवती महिलाले अबदेखि जिल्लामै औषधि विधिद्वारा सुरक्षित गर्भपतन गराउन सक्ने भएका छन् ।

Daddy's Hands-Artistic

असुरक्षित र गैरकानुनी गर्भपतनलाई नियन्त्रण गर्न सङ्घले औषधि विधिद्वारा नौ हप्तासम्मको गर्भपतन सेवा सूचीकृत प्राविधिकहरूको परामर्शमा सेवा सञ्चालनमा ल्याएको हो । औषधिको प्रयोगद्वारा ६३ दिनसम्मको गर्भलाई सङ्घको गुलरियास्थित क्लिनिकबाट सुरक्षित गर्भपतन सेवा प्रदान गरी सेवा सञ्चालनमा ल्याइएको सङ्घका नवीनकुमार भट्टले जानकारी दिए ।

कानुनले तोकेअनुसार गर्भवतीको स्वेच्छाले नौ हप्तासम्मको, जबर्जस्ती वा हाडानाता करणीबाट बसेको गर्भ भए १८ हप्तासम्मको वा प्रशवको कारण शारीरिक र मानसिक असर पर्ने भएमा जुनसुकै भए पनि सूचीकृत स्वास्थ्य संस्थामा गएर गर्भपतन गराउन सकिने प्रावधान रहेको छ । संघले यसअघि २० वटा जिल्लामा परिवारले स्वास्थ्य क्लिनिकमार्फत चिकित्सकसहितको गर्भपतन सेवा सुरु गरे पनि बर्दिया भने पहिलोपटक यो सेवा सञ्चालनमा ल्याएको हो । पछिल्लो समय जिल्लामा अदक्ष स्वास्थ्यकर्मीका साथै भारतमा समेत गएर असुरक्षित गर्भपतन गराउने सङ्ख्या बढ्दो छ ।


  •  
  •  
  •