साफ महिला फुटबल च्याम्पियनसिप : नेपाल फाइनलमा प्रवेश

401
  •  
  •  
  •  

मोरङ, ६ चैत्र(ओएनएस) : विराटनगरमा जारी साफ महिला फुटबल च्याम्पियनसिपमा नेपाल फाइनलमा प्रवेश गरेको छ ।

बुधबारको पहिलो सेमिफाइनलमा श्रीलंकाविरुद्ध ४–० गोल अन्तरको जित निकाल्दै नेपालले फाइनलमा स्थान बनाएको हो ।

नेपालले अब उपाधिका लागि भारत र बंगलादेशबीचको विजेतासँग प्रतिस्पर्धा गर्ने छ । भारत र बंगलादेशबीचको सेमिफाइनल पनि आजै हुनेछ ।

विराटनगरको शहीद रंगशालामा भएको सेमिफाइनलमा नेपालले पहिलो हाफमा १ गोल गरेको थियो भने बाँकी तीन गोल दोस्रो हाफमा सम्भव भएको हो ।

नेपालले पहिलो गोल गर्न भने ४२ औं मिनेटसम्म कुर्नु परेको थियो । पहिलो हाफको ४२ औं मिनेटमा पुनम जर्घा मगरले गोल गर्दै अग्रता दिलाएकी हुन् ।

नेपालले पहिलो हाफमा थुप्रै पटक पोस्ट चार्ज गरेको थियो । दोस्रो हाफको सुरुमै सावित्रा भण्डारीले गरेको पोस्ट चार्ज भने श्रीलंकाली गोल किपरल बचाएकी थिइन् । त्यसैगरी कप्तान निरु थापाले पनि पटक पटक पोस्ट चार्ज गरेकी थिइन । यसैगरी दोस्रो हाफमा डी बक्सभित्र श्रीलंकाली खेलाडीले ह्याण्ड गर्दा पनि रेफ्रीले पेनाल्टी दिएनन् ।

७२ औं मिनेटमा अनिता बस्नेतले गोल गर्दै नेपालको अग्रता दोब्बर बनाइन् । कप्तान निरु थापालाई रिप्लेस गर्दै मैदान प्रवेश गरेकी रेखा पौडेलले पनि राम्रो फुटबल खेलेकी थिइन् ।

८१ औं मिनेटमा सावित्रा भण्डारीले नेपालका लागि व्यक्तिगत पहिलो र टिमका लागि तेस्रो गोल गरिन् । सावित्राको जारी साफमा व्यक्तिगत तेस्रो गोल पनि हो । तीन गोलको अग्रता बनाएको नेपाललाई रेखा पौडेलले चौथो गोल गरेकी थिइन् ।

नेपालले उपाधिका लागि शुक्रबार दिउँसो ३ बजे भारत र बंगलादेशबीचको विजेतासँग प्रतिस्पर्धा गर्ने छ ।


  •  
  •  
  •