संविधानसभा छाडने सद्भावनाको चेतावनी

210
  •  
  •  
  •  

 
काठमाडौं, ७ साउन (ओएनएस) : मधेश केन्द्रित सद्भावना पार्टीले संविधानको पहिलो मस्यौदामा मधेश आन्दोलनका भावना नसमेटिए संविधान सभा छाडेर सडक आन्दोलनमा जाने चेतावनी दिएको छ ।

राजधानीमा हालै सम्पन्न सद्भावना केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संघीय संविधान जारी गर्न सम्पूर्ण शक्ति लगाउने तर, संविधानसभामा बेइमानी भए संविधान सभा परित्याग गर्ने निर्णय गरेको हो । सदभावनाले संविधानसभा भित्र र बाहिर मधेश केन्द्रित राजनीतिक दलहरु विच एकीकरण÷मोर्चाबन्दी गर्दै कार्यगत एकताको प्रक्रियामा तिब्रता ल्याउने बताएको छ ।

पत्रकार सम्मेलनमा सदभावना अध्यक्ष राजेन्द्र महतोले मधेशी पार्टीबीच एकीकरणको बाधक पहिचान गर्न आम मधेशी जनता संग आग्रह गरे । सद्भावनाले अधिकार सम्पन्न स्वायत्त मधेश प्रदेशको नाम ‘मधेश प्रदेश’ वा ‘मधेश थरुहट प्रदेश’ राख्न प्रस्ताव गरेको छ । सदभावनाले भरतीय प्रधानमन्त्रीको नेपाल भ्रमणको तयारी नगरेर सरकारले भारत विरोधीमा आधारित राष्ट्रवादको पुनरावृत्ती गरेको आरोप लगाएको छ ।

‘संविधान सभामा संविधानको प्रथम मस्यौदा बनाउदा सम्म पनि जनआन्दोलन, मधेश आन्दोलन लगायतको भावना अनुसार संघिय संविधान निर्माणको लागि पार्टी सम्पूर्ण शक्ति लगाउने छ । तर, मधेश मुद्दा का साथ संविधानमा बेइमानी गरिए, पार्टी संविधान सभालाई परित्याग गरी निर्णायक आन्दोलन गर्ने तथा संविधान निर्माण नहुन्जेल पार्टी सरकारमा सामेल नहुने भनी बुद्धिजिवीहरुबाट आएको सुझाव माथि व्यापक छलफलमा लैजान निर्णय गर्दछ र सवैबाट प्राप्त सुझाव निर्णयको लागि पार्टी राष्ट्रिय कार्य समितिको वैठकमा पेश गर्ने र निर्णायक आन्दोलनको घोषणा गर्ने निर्णय गर्दछ’ पत्रकार सम्मेलनमा वितरित विज्ञप्तीमा उल्लेख छ ।


  •  
  •  
  •