तीन महिनादेखि अवरुद्ध नाग्म–गमगढी सडक सञ्चालनमा

763
  •  
  •  
  •  

मुगु, ३ चैत(ओएनएस) :  भारी हिमपातका कारण तीन महिनादेखि अबरुद्ध नाग्म – गमगढी सडकखण्ड सञ्चालनमा आएको छ ।

मुगु र जुम्लाको सिमानमा पर्ने घुच्चीलेखकको सात मोड, भुलभुलेमा ५ फिलसम्म हिउँ जमेर बन्द भएको सडक शनिबारबाट सञ्चालनमा आएको हो । सडक पुसको अन्तिम सातादेखि हिमपातले बन्द भएको थियो ।

सडक सञ्चालनमा ल्याउन सडक डिभिजन कार्यालय, जुम्ला छायाँनाथ रारा नरपालिका, जिल्ला प्रशासन कार्यलय, मुगु उद्योग वाणिज्य संघ, नेपाल प्रहरी, सशस्त्र प्रहरीको पहलमा जुम्लाको भुलभुलेदेखि मुगुको झाडनाउलासम्म डोजर लगाएर हिउँ हटाएपछि अबरुद्ध सडक सञ्चालनमा आएको होे । सडक खुलेपछि यातायातका साधान, साना गाडी र ट्याक्टर सञ्चालनमा आएका छन् ।

तीन महिनादेखि सडक अवरुद्ध हुँदा निर्माण सामग्री र दैनिक उपभोग्य वस्तु ढुवानी गर्न असहज भएको र दैनिक उपभोग्य सामानको अभाव भएको थियो । ठूला सवारी साधन नियमित सञ्चालनमा ल्याउन अझै केहि दिन लाग्ने छायाँनाथ रारा नगरपालिका अध्यक्ष हरिजंग शाहीले बताए ।

सडक बन्द हुँदा नागरिकले पैदल यात्रा गरी जुम्ला सम्म यात्रा गर्न बाध्य भएका थिए ।

जोखिमपूर्ण नाग्म गमगढी सडक

गमगढी–नाग्म सडक खण्ड सबैभन्दा जोखिमपूर्ण रहेको छ । झ्यारीखोला, ताल्चामैतु, एसमोड, सातमोड, पिनालगायत खण्डमा हिउँदमा हिउँ र वर्खामा पानी पर्ने वित्तिकै हिलाम्मे हुन्छ ।

पहिरोको खतरा पनि उत्तिकै हुने गर्छ । बढी लोड बोकेका सवारी हिलोमा फस्दा निकाल्नै गाह्रो हुने चालक जुम्लाका विर्ष थापा बताउँछन् ।

ट्रयाक खुलेको ६ वर्ष बित्दासम्म पनि नाग्म गमगढी सडक कालोपत्रे हुन सकेको छैन् । यो सडक वर्षमा ४ महिना मात्र यातायातका साधन चल्ने र बाँकी महिना सडक बन्द हुने गरेको छ ।

सरकारले सडक स्तरोन्नतिमा ध्यान नदिँदा नागरिकले सास्ती खेप्नु परेको छ । जोखिमपूर्ण सडकका कारण पर्यटकीय गन्तव्य रारा आउने यात्रुले पनि निकै हैरान व्यहोर्नु परेको छ ।


  •  
  •  
  •