बारा घटना सरकारले छानविन गर्ने

101
  •  
  •  
  •  

काठमाडौं, २६ असोज (ओएनएस) : सरकारले बारा घटनका विषयमा छानविन गर्ने भएको छ । व्यवस्थापिका संसदको आइतवारको बैठकमा सभादसदहरुले उक्त घटनाको विरोध गरेपछि उपप्रधान तथा गृहमन्त्री बामदेब गौतमले बारको सिमरनगढमा भएको गोली काण्डका बारेमा सरकारले छानविन गर्ने जानकारी गराएका हुन् ।

शनिवार बारको सिमरनगढ–कलैया सडकखण्ड मर्मतको माग गर्दै स्थानीय बासिन्दाले गरेको विरोध प्रदर्शनको क्रममा प्रदर्शन उत्तेजित भएपछि सुरक्षाकर्मीबाट चलाइएको गोली लागी एकको मृत्यु र केही व्यक्ति घाइते भए पछि व्यवस्थापिका संसदको आइतबारको बैठकमा जानकारी दिंदै मन्त्री गौतमले यस्तो बताएका हुन् ।
व्यवस्थापिका संसद बैठकको शुरुमै समय लिएर बोल्दै मधेसी सभासदहरु प्रभु साह, लक्ष्मणलाल कर्ण, रामअयोध्या प्रसाद यादव, लाल बहादुर राउत, नागेन्द्र प्रसाद चौधरी थारु लगायतले विकासको माग गर्दा सर्वसाधारण जनता गोलीको शिकार हुनु परेको भन्दै सरकारको कडा आलोचना गरेका थिए ।

उनीहरुले दोषी सशस्त्र प्रहरीलाई कारबाही, मृतकलाई शहिद घोषण, मृतक परिवारलाई क्षतिपूर्ति, घटनामा परि घाईतेलाई निःशुल्क उपचार र सिमरनगढ–कलैया सडकखण्ड समयमा नै मर्मत हुनु पर्ने माग राख्दै सरकारको ध्यानाकर्षण गराउँदै घटनाको विषयमा गृहमन्त्रीको जवाफ समेत माग गरेका थिए ।
त्यस लगत्तै हिजो भएको बारा घटनाको विषयमा सदनलाई जानकारी गराउँदै मन्त्री गौतमले सरकारले छिट्टै गठन गर्ने छानबिन समितिले सत्य तथ्य बाहिर ल्याएपछि त्यसलाई कार्यान्वयन गर्न सरकार तयार रहेको तथा स्थानीयको मागको विषयमा सरकार गम्भिर भएको पनि स्पष्ट पारेका छन् ।

घटनाबारे थप जानकारी दिंदै गृहमन्त्री गौतमले, घटनामा हरिपुर निवासी ३५ बार्षिय जयनारायण पटेलको मृत्यु भएको र घटनामा गम्भिर घाइते भएका अर्का एक स्थानीयको काठमाडौंको शिक्षण अस्पतालमा उपचार भइरहेको जानकारी दिंदै घाइते व्यक्ति अहिले खतरामुक्त रहेको पनि सदनलाई जानकारी दिए ।
घटनामा घाइते भएका सशस्त्र प्रहरीहरुको भने वीरगंजस्थित नारायणी उप–क्षेत्रीय अस्पतालमा उपचार भइरहेको जानकारी दिंदै मन्त्री गौतमले सडक मर्मतको काम शुरु गरि सक्दा पनि सयौं स्थानीयले माइकिंग गर्दै स्थानीयलाई सडकमा उतारी सडक अवरोध गरेको, स्थानीय प्रहरी कार्यालय माथि आक्रमण गरेको, सुरक्षामा खटिएका सशस्त्र प्रहरी चढेकै अवस्थामा गाडी माथि पेट्रोल छर्की आगो लगाई सुरक्षाकर्मी माथि नै ढुंगामुडा र लाठीबाट आक्रमण गरि सशस्त्र प्रहरीका जवानको आँखा समेत फोर्न खोजेकाले दर्जनौ हवाई फायर र अश्रुग्यास प्रहार गर्दा समेत प्रहरी माथिको आक्रमण बढेपछि वाध्य भई आत्मरक्षाको लागि गोलि चलाउनु परेको जानकारी दिएका छन् ।

सो क्षेत्रमा हिजो ३ बजे देखि साँझ ७ बजे सम्म कफ्र्यु लगाइएको र स्थानीय राजनीतिक दल, स्थानीय वासिन्दा र सुरक्षाकर्मीको पहलमा स्थितिलाई सामान्य बनाउने कार्य भइरहेको पनि गृह मन्त्री गौतमले सदनलाई जानकारी दिंदै सडक मर्मतको माग अनुसार काम शुरु भइसक्दा पनि स्थानीय उत्तेजित हुनुको कारण बुझ्न नसकिएको बताए ।


  •  
  •  
  •