काठमाडौं, ७ चैत(ओएनएस) : पत्रकार एवं कवि सचित राईको खोजअनुसन्धानमूलक कृति ‘माङखिम’ बजारमा आएको छ । १६ वटा निबन्धात्मक आलेख समेटिएको यस कृतिको शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा कवि तथा नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँलाले विमोचन गरेका छन् । प्रकाशन समन्वय इलाम समाज हङकङले गरेको यस कृतिमा लेखकको परिपक्वता देखिएको पूर्वकुलपति काइँलाले टिप्पणी गरे ।
“विषय त जहिले त्यही त हो नि । आफ्नो भनेको चाहिँ भाषाको प्रस्तुति र त्यसमा उसले अपनाएका तरिकाहरु हो,” उनले भने, “त्यही निजीपनमा जुन सुन्दरता र परिपक्वता छ त्यो माङखिममा संकलित निबन्धहरुमा देखिएको छ । पाठकलाई र समालोचकलाई आकर्षित गर्ने पहिलो कुरा यही हो ।”
उनले सचितलाई आँटिलो लेखकको संज्ञा पनि दिए ।भने, “गाउँघरमा विशेष राम्रा प्रतिभाको कुरा गर्दा त्यसका प्रतिद्धन्द्धीहरु हुन्छन् ।
प्रतिद्धन्द्धीको कुरा गर्दाखेरि पक्ष र विपक्ष पनि हुन्छन् । एउटा पक्षको कुरा गर्दा अर्को रिसाएको पनि हुन्छ । ए रिसाउँछ र एक दिन पछाडिबाट ढुंगाले हान्छ कि भन्ने डर नमानी लेख्न सक्ने लेखक पनि हुँदा रहेछन् ।” पत्रकार भएका हुनाले यो आँट सचितले गरेको हुन सक्ने उनले बताए ।
उनले साहित्यकारले आफूभित्रको इमानदारिता, परिवार, कुल वंश, समाज र राष्टप्रतिको जुन इमानदारिता छ त्यसलाई साहसपूर्वक निर्वाह गर्न सक्यो भने लेखिएका लेखहरुले सामाजिक उच्च मान्यता पाउने विश्वास व्यक्त गरे । उनले डोमिनेटिङ कल्चरको मात्र कुरा गर्ने हो भने डोमिनेटेड कल्चरको कुरा गरिएन भने सबै त कहिले पनि अघि बढन नसक्ने धारणा व्यक्त गरे।
”हाम्रो मुलुक भनेको बहुसांस्कृतिक भएको हुनाले सबै संस्कृतिको योगफलले नेपालको संस्कृति बन्छ भन्ने मान्यता राखियो भने जुनसुकै समुदायको संस्कृतिको कुरा गरे पनि यो सबैको हुनुपर्छ,” उनले भने, ”डोमिनेटिङ कल्चरको जुन त्रास छ, यसबाट उम्किनुपर्छ । हाम्रो भित्रको प्रतिभाको कुरा गर्नुपर्छ ।” सचितले यस्तै काम गरेको उनको भनाइ थियो ।
राष्ट्रगान सर्जक व्याकुल माइलाले यो कृति खोज पत्रकारिता, संस्मरण र आत्मवृत्तान्त लेखन विधिबाट तयार भएको उल्लेख गर्दै यसमा राजनीति, ऐतिहासिक, धार्मिक, सांस्कृतिक, सामाजिक तथा आर्थिक क्षेत्रका रोचक, रहस्यमय र पेचिला विविध विषयवस्तु समेटिएको सुनाए ।
लेखक राईले आफूले भोगेका/देखेका/सुनेका समाजका फरक पाटोलाई दस्तावेजीकरणको प्रयास गरेको बताए । नयाँ कृतिका अधिकांश लेखमा इलाम, उक्त जिल्लामा जन्मिएर विशिष्ट योगदान दिएका प्रतिभा, समाज, रीतिरिवाजलगायत विविध पक्ष समेटिएको छ ।