संविधान कार्यान्वयनमा दूरदर्शिता र प्रतिबद्धताकाे पाटो कमजोरी: सभामुख

130
  •  
  •  
  •  


काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले जनताको चाहना र राष्ट्रको आवश्यकताभन्दा ठूलो अरू केही नहुने र आफूले कानूनभन्दा बाहिर गएर कुनै पनि निर्णय नगर्ने बताएका छन्।

राष्ट्रियसभा विधायन व्यवस्थापन समितिद्वारा शनिबार आयोजित विधायिकी खुल्लापन र लोकतन्त्र मेला कार्यक्रममा सभामुखले भने, ‘लोकतन्त्रको रक्षाको लागि हामी सबैले संकल्प गरेर लाग्नुपर्छ । जनताको चाहाना र राष्ट्रको आवश्यकताभन्दा अरू ठूलो केही हुन सक्दैन । मूलभूत रूपमा ठिक ट्रयाकमा अगाडि बढिरहेका छौँ । यसलाई अझै राम्रोसँग अगाडि बढाउनुपर्छ ।’

देश र जनताको लागि संसदबाट सबै कुरा उत्पादन हुने भएकाले प्रभावकारी ढंगबाट अगाडि बढाउन सक्नुपर्ने बताए । सभामुखले भने, ‘संसदलाई प्रभावकारी ढंगबाट सञ्चालन गर्नको लागि अझ मिहिनेत र प्रयासको साथ संसदलाई प्रभावकारी ढंगबाट सञ्चालन गर्नको लागि कार्यसम्पादनमा चुस्त दुरुस्त बनाउन लाग्नुपर्छ ।’

संघीय संसदको ठूलो भूमिका भएकाले संसदलाई अझै प्रभावकारी बनाउनका लागि अहिलेकै गतिमा सन्तुष्ट भएर बस्ने अवस्था नरहेको बताए । पूरै निष्ठाको साथ आफ्नो चेतनाले भ्याएसम्म संसदलाई प्रभावकारी बनाउन भूमिका खेल्ने उनको भनाइ छ । देश, जनता र कानुनभन्दा बाहिर गएर कुनै निर्णय गर्ने समेत प्रतिबद्धता जाहेर गरे ।

 सापकोटाले भने, ‘समुद्र मन्थन गरेझैँ धेरै छलफल र बहसका साथ जारी भएको नेपालको संविधान महत्वकांक्षी छ, जनतालाई अधिकार प्रदान गर्ने हिसाबले विशिष्ट र मौलिक छ । लोकतन्त्र भनेको भाषणमा होइन व्यवहारमा अभ्यास गर्ने विषय हो ।’

संघीय ससद्को ओजलाई माथि उठाउन सबैले भीष्म प्रतिज्ञा र संकल्प गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले भने, ‘संविधान कार्यान्वयनमा दूरदर्शिता र प्रतिबद्धता पाटोमा कमजोरी छ । कार्यसम्पादनमा देखिएका कमी कमजोरी सुधार, परिमार्जनका लागि कडा मिहिनेत र इमान्दार प्रयास आवश्यक छ ।’

कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संविधान र संघीयता कार्यान्वयनको प्रतिफल नागरिकले के कति प्राप्त गर्न सके त्यसको गहन समीक्षा हुनुपर्ने बताए । उनले भने, ‘विधि बनाउने मुख्य जिम्मेवारीमा हाम्रो पहल कस्तो रह्यो, सुशासनका माध्यमद्वारा मुलुक र नागरिकलाई समृद्ध बनाउन भएका प्रयासको समीक्षा हुनुपर्छ, हाम्रो मिहिनेतले इतिहासको कठघरामा इमान्दारपूर्वक काम गरेको भन्ने छवि बनोस् ।’

कार्यक्रममा राष्ट्रियसभाका उपाध्यक्ष शशिकला दाहालले लामो संघर्ष र ठूलो बलिदानीको उपलब्धिका रुपमा संविधानसभाबाट जारी भएको संविधानका उल्लेखित मौलिक अधिकार लगायतका विषयवस्तु कार्यान्वयन गरी जनतालाई परिवर्तनको अनुभूति प्रदान गर्न सबैको इमान्दार प्रयासको खाँचो रहेको बताइन् ।

विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले लोकतान्त्रिक मूल्यमान्यतालाई राजनीतिक दल, नागरिक समाज र भ्रातृ सङ्गठनलाई एक ठाउँमा भेला भएर जनता र मुलुकको हित प्रवद्र्धनका लागि अनुभव साटासाट गर्न सकियोस् भन्ने हेतुले संविधान दिवसका अवसरमा लोकतन्त्र मेला आयोजना गरिएको बताए ।

कार्यक्रममा संविधानसभा सदस्य एवं वरिष्ठ अधिवक्ता खिमलाल देवकोटाले संविधान र संघीयताः हिजो, आज र भोलि, वरिष्ठ अधिवक्ता सुरेन्द्रकुमार महतोले संविधान र समावेशिता तथा अधिवक्ता माधवकुमार बस्नेतले संविधान र मौलिक हक विषयमा प्रस्तुत गरेकाे कार्यपत्रमाथि नेपाल कानून आयोगका निवर्तमान अध्यक्ष माधव पौडेलले टिप्पणी गरेका थिए ।

सो अवसरमा सभापति मेघी गुरुङद्वारा लिखित नेपालमा कानुनको सामाजिक जाँच (उत्तरविधायिकी परीक्षण) नामक पुस्तिकको लोकार्पण गरिएको थियो ।

समारोहमा संसद् सचिवालयका पूर्वमहासचिवत्रय ईश्वरप्रसाद उपाध्याय, सूर्यकिरण गुरुङ र मनोहरप्रसाद भट्टराईलाई उनीहरुले पु¥याएको योगदानको स्मरण गर्दै सम्मान गरिएको थियो ।

हेर्नुहोस् भिडियो


  •  
  •  
  •