आ–आफ्नै स्वार्थमा रोकियो सभामुख चयन

486
  •  
  •  
  •  

काठमाडौं । सभामुख चयनका विषयमा राजनीतिक सहमति जुट्न नसक्दा प्रतिनिधिसभा बैठक पटक–पटक स्थगित हुँदै आएको छ । पछिल्लो पटक आइतबारको बैठक पनि सूचना टाँसेर माघ ६ गते सम्मका लागि स्थगित भएको छ ।

यही पुस ४ गतेदेखि शुरु भएको संघीय संसद्को पाँचौँ अधिवेशनअन्तर्गत प्रतिनिधिसभाको बैठक रिक्त सभामुखको निर्वाचन कार्यतालिका र उम्मेदवार चयनमा राजनीतिक सहमति नहुँदा यसअघि पनि यही पुस ११ र १६ गते स्थगन भएको थियो ।

संसद् सचिवालयका एक महिला कर्मचारीमाथि यौन दुव्र्यवहारको आरोप लागेपछि सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को निर्णयका आधारमा तत्कालीन सभामुख कृष्णबहादुर महराले गत असोज १५ गते पदबाट राजीनामा दिएका थिए । हाल उनी पुर्पक्षका लागि थुनामा छन् ।

प्रतिनिधिसभाको बैठक प्रभावित

सत्तारूढ नेकपाभित्र सभामुख कसलाई बनाउने भन्ने विषयमा छलफल जारी रहेकाले प्रतिनिधिसभाको बैठक प्रभावित हुँदै आएको छ ।

सभामुख र उपसभामुख फरक–फरक दलबाट चयन हुनुपर्ने संवैधानिक व्यवस्था भएकाले उपसभामुख तुम्बाहाङ्फेलाई राजीनामा दिई दुवै पदको नयाँ निर्वाचनको प्रक्रियाका लागि मार्गप्रशस्त गर्न नेकपा नेतृत्वले यस अघि नै आग्रह गरिसकेको छ ।

प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग उपसभामुख तुम्बाहाङ्फेले परामर्श पनि गर्दै आएकी छन् ।

उपसभामुख तुम्बाहाङ्फेले रिक्त सभामुखमा आफूलाई उम्मेदवार बनाउन माग गर्दै आएकी छन् । उपसभामुख तुम्बाहाङ्फेको आग्रहसगै महिला अधिकारकर्मि तथा नेकपाका पूर्व एमाले इतरका महिला सांसदले पनि शिर्षस्थ नेताहरुसग उनकै पक्षमा पैरवी गरीरहेको बुझिएको छ ।

संकटमा नेकपा नेतृत्व
प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले राजीनामा गर्न गरेको आग्रह उपसभामुख डा.शिवमाया तुम्बाहाङ्फेले आइतबार बिहान पनि अस्वीकार गरिन् ।

स्रोतका अनुसार नेकपा सचिवालयले शनिबार बेलुका उनलाई राजीनामा गर्न लगाउने निर्णय गरेको थियो ।
यसअघि पनि ओली र दाहालले उनलाई राजीनामा गरेर सभामुखका लागि मार्गप्रसस्त गर्न आग्रह गरेका थिए ।
सभामुखमा आफ्नो दाबी राख्दै हिँडेकी डा. तुम्बाहाङ्फेले राजीनामा दिन फेरि पनि अस्वीकार गरेपछि नेकपा नेतृत्व अप्ठ्यारोमा परेको हो ।

यसो त केहि महिला नेतृहरु उपसभामुख तुम्बाहाम्फेलाई नै सभामुख बनाउनुपर्ने पक्षमा देखिएका छन् ।
योग्यता, क्षमता, अनुभवका आधारमा उपसभामुख भइरहेको व्यक्ति सभामुखको लागि दाबी गर्ने पहिलो व्यक्ति हुनेमा कुनै शंका नभएको उनीहरुको दाबी छ ।

अनेमसंघकी अध्यक्ष अमृता थापा मगर सभामुख महिला नै हुनुपर्ने बताउँछिन् । उनी भन्छिन्, ‘कुनै पनि दृष्ट्रिकोणबाट महिला कम छैनन् । त्यसकारण सभामुखमा महिला हुनुपर्ने हाम्रो माग हो ।’

दलिय स्वार्थमा सभामुख चयन

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओली र अर्का अध्यक्ष प्रचण्डले राजीनामा गर्न गरेको पछिल्लो आग्रह पनि उपसभामुख डा.शिवमाया तुम्बाहाङ्फेले अस्वीकार गरिन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीको साथ पाएको भनिएकी उपसभामुख डा. तुम्बाहाङ्फेले पार्टीको आग्रह र निर्णयसमेत नमानेपछि अब के गर्ने भन्नेमा नेतृत्व छलफलमा छ ।

यसो त तत्कालिन एमाले र माओवादीले सभामुखका लागि आ–आफ्नै पार्टीको राख्नुपर्ने अडान राख्दै आएका छन् ।
तत्कालिन एमालेबाट सुवास नेम्वाङ र माओवादीबाट अग्नी प्रसाद सापकोटा, देव गुरुङ, पम्फा भुसालको नाम चर्चामा छ । पूर्व माओबादी पक्षधरका नेताहरु भने यदी महिला सभामुख सबैको चाहना हो भने किन पम्फा भुषाललाई अघि नसार्ने भन्ने मान्यतामा अघि बढेको पाइएको छ ।

नेकपाकै एक नेताका अनुसार ‘ नेताहरु सिद्धान्तमा भन्दा पनि दलिय स्वार्थमा लागेको हुनाले पनि सभामुख चयन प्रकृया रोकिएको हो ।’

कांग्रेसको असन्तुष्टि

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीले पटक पटक प्रतिनिधिसभा स्थगित गरेकोप्रति असन्तुष्टि जनाएको छ ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा पार्टीभित्रको विवादका कारण प्रतिनिधिसभाको बैठक पटक–पटक स्थगित गरेकामा असन्तुष्ट जनाएका छन् ।

यस्तै विज्ञप्तिमा यसलाई सरकार र सत्तारूढ नेकपाको संसदप्रतिको गैह्र जिम्मेवार ब्यवहारका रुपमा लिएको जनाइएको छ ।

‘संसदीय प्रणालीमा सभामुखको विशेष नेतृत्वदायी भुमिका, गरिमा र महत्व हुन्छ । तर ३ महिनादेखि रिक्त पदमा नयाँ सभामुख चयन गर्न प्रतिनिधिसभामा प्रक्रिया अघि नबढाइनु र सत्तारूढ दलभित्रको विवादको छायाँमा प्रतिनिधिसभालाई लाचार छायाँ बनाउन खोज्नु आपत्तिजनक र लज्जास्पद छ’ विज्ञप्तिमा भनिएको छ ।

कांग्रेसले प्रतिनिधिसभालाई अनिर्णयको बन्दी नबनाउन आग्रह गर्दै तत्काल निकास दिन सरकार र सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीलाई सचेत गराएको छ ।

नेकपाको नेतृत्वमाथि प्रश्न

महिला मानव अधिकार रक्षकहरूको राष्ट्रिय सञ्जालले नेकपाको नेतृत्वलाई प्रश्न गरेको छ । सञ्जालले विज्ञप्ति मार्फत ‘महिलाहरूको नेतृत्व क्षमतामाथि यसैगरि कुठाराघात गर्दै जाने संस्कृतिबाट समाजवाद ल्याउन सकिएला त ?’

समाजवाद उन्मुख संविधानको डिग हाक्ने नेकपाको नेतृत्वले उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेसँग सभामुख हुन सक्ने अनुभव, योग्यता, क्षमता सबै कुरा हुँदाहुँदै पनि केवल महिला भएकै कारण पदमुक्त गर्ने दुर्नियतको जतिसुकै विरोध र भत्र्सना गर्दा पनि कम हुने आक्रोस व्यक्त गरेको छ ।

सञ्जालले संघीय संसद सभामुखविहीन भएको करीव तीन महिना बितिसक्दा पनि संसदसहित राजनीतिक दलहरू अनिर्णयको बन्दी बनिरहेको कुराप्रति खेद प्रकट गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘सभामुख पद रिक्त भएको अवस्थामा वहालवाला उपसभामुख शिवमाया तुम्बाहाम्फे त्यसको दाबेदार हुँदाहुँदै महिला भएकै कारणले उहाँलाई त्यसपदमा स्वीकार नगरी लामो समयसम्म सभामुख विहीनताको अवस्था सृजना भएको अवस्थाप्रति महिला मानवअधिकार रक्षहरूको राष्ट्रिय संजालको गम्भिर ध्यानकर्षण भएको छ ।’

महासचिव राधिका सापकोटाद्वारा जारी विज्ञप्तिमा माक्र्स लेनिनका अनुयायीहरूले महिलाहरूको संलग्नता बिनाकोराजनीतिबाट कसरी समाजवादको सपना देखेका होलान् ? हामीलाई यो कुराले आश्चर्यमा पारेको छ भनिएको छ । तसर्थ क्षमता पुरुषहरूमा मात्रै छ, अवसर पुरुषहरूले मात्रै पाउनुपर्छ, न्याय पुरुषहरूमाथि मात्रै गर्नुपर्छ, नेतृत्व व्यवस्थापन गर्ने आवश्यकता पुरुषहरूलाई मात्र हो भन्ने वर्तमान सरकार, सत्ता र पार्टी नेतृत्वको पितृसत्तात्मक सोच, संस्कार र स्खलित विचारलाई तेजोबध गर्न आवश्यक रहेको पनि उल्लेख छ ।


  •  
  •  
  •