सवारी चाप हटाउन ‘पिक एण्ड ड्रप’ व्यवस्था लागू

598
  •  
  •  
  •  

काठमाडौं, २२ वैशाख(ओएनएस) : काठमाडौं कलंकी चोकमा हुने सवारी चाप हटाउन भन्दै आजदेखि ‘पिक एण्ड ड्रप’ व्यवस्था लागू भएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले अत्यधिक सवारी साधन रोकिने चोकका रुपमा रहेको कलंकीमा सो व्यवस्था लागू गरेको हो ।

‘पिक एण्ड ड्रप’ व्यवस्था लागू गरेसँगै अब उपत्यका बाहिर जाने र उपत्यकाभित्र आउने सवारी साधनले छुट्टाछुट्टै स्थानमा यात्रु चढाउने र ओराल्नुपर्ने भएको छ ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तका अनुसार उपत्यकाको ट्राफिक व्यवस्थालाई चुस्त र दुरुस्त बनाउनका लागि उक्त व्यवस्था लागू गरिएको हो ।

उनले भने, ‘पिक एण्ड ड्रप व्यवस्था लागूसँगै कलङ्की क्षेत्रमा हुने सवारी जाम कम हुने विश्वास हामीले लिएका छौँ ।’

महाशाखाले यसअघि रत्नपार्क, पुरानो बसपार्क, आरएनएसी, जमल, लैनचौर, कोटेश्वरलगायत अत्याधिक सवारी चाप हुने क्षेत्रमा सो व्यवस्था लागू गरेको थियो ।

महाशाखाले उपत्यकाको ट्राफिक सुधारका लागि तीन महिने कार्ययोजना बनाएर काम शुरु गरिसकेको छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको नेतृत्वमा चैत २१ देखि शुरु भएको तीन महिने कार्ययोजनाअन्तर्गत उपत्यकाका करिडोर, जेब्राक्रसिङ र आकाशे पुल निर्माण गर्नाका साथै सवारी साधनको प्रदूषण जाँचलगायत काम ट्राफिक प्रहरीले गर्दै आएको छ ।


  •  
  •  
  •