काठमाडौँ, ३ चैत्र(ओऐनएस) : दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को स्थायी समितिको बैठक आज बस्दैछ ।
३७ औँ मन्त्रिपरिषद् बैठकअन्तर्गत कार्यक्रम समितिको मंगलबार भएको ५२औं बैठकले आज हुने स्थायी समितिको बैठकमा प्रस्तुत हुने प्रतिवेदन अनुमोदन गरेको थियो । आठ वटै सदस्य राष्ट्रका परराष्ट्र/बाह्य मामिला मन्त्रालयमा सार्क विभाग प्रमुख सम्मिलित बैठकमा दक्षिण एसियाली विश्वविद्यालय, सार्क विकास कोष, सार्क मध्यस्थता परिषद्लगायत सार्कका विशिष्टिकृत निकायबारे छलफल भएको थियो ।
कृषिसँग सम्बन्धित विविध विषयका साथै बीउबिजन बैंक, पशु चिकित्सा र परियोनमा आधारित सहयोगबारे कार्यक्रम समितिमा छलफल भएको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।
आतङ्कवाद, लागू औषध, सूचना तथा सञ्चार, सार्कका क्षेत्रीय निकायहरूको प्रशासनिक एवम् वित्तीय व्यवस्थापन, सन् २०१६ का लागि सार्क ऊर्जा केन्द्रका गतिविधि, सदस्य मुलुकमा क्षेत्रगत सहयोग प्रवद्र्धन गर्न क्षेत्रीय योजना परिषद् स्थापना र सार्कका कार्यक्रमको समीक्षा बैठकमा भएको थियो ।