हसिनाबाहेक सार्कका राष्ट्र/सरकार प्रमुख धुलिखेलमा

297
  •  
  •  
  •  

काठमाडौं ११ मंसिर (ओएनएस) : स्वास्थ्यमा सामान्य समस्या देखिएपछि बंगलादेशकी प्रधानमन्त्री शेख हसिना दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन(सार्क) को १८ औं शिखर सम्मेलन अन्तर्गत धुलिखेलमा आयोजना गरिएको रिट्रिटमा सहभागि नहुने भएकी छिन् ।

हसिनाबाहेक अन्य राष्ट्र तथा सरकार प्रमुख हेलिकप्टरबाट धुलिखेलमा पुगेका छन् । धुलिखेलमा प्रधानमन्त्री सुशील कोइराला सबैभन्दा पहिले पुगेका थिए ।

कोइरालासँगै धुलिखेल पुगेका संचार मन्त्री डा. मिनेन्द्र रिजालले सार्क मुलुकका प्रमुखहरुलाई स्वागत गरेका थिए । उनीहरु दिउँसो दुई बजेसम्म धुलिखेलमै बस्ने बताइएको छ । रिट्रिटमा नेपालका प्रधानमन्त्री सुशील कोइराला, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफ, श्रीलंकाका राष्ट्रपति महिन्दा राजापाक्षे, अफगानिस्तानका राष्ट्रपति असरफ घानी, भुटानका प्रधानमन्त्री छिरिङ तोग्बे र माल्दिभ्सका राष्ट्रपति अब्दुल्लाह यमिन सहभागी छन् ।

त्यस्तै अन्य केही विशिष्ट पाहुनाहरु समेत सहभागि हुने जनाइएको छ । रिट्रिटमा सार्क क्षेत्रको विकास र आपसी हितका विषयमा राष्ट्रध्यक्ष र सरकार प्रमुखहरु बीच द्धिपक्षीय, त्रिपक्षीय तथा बहुपक्षीय छलफल र कुराकानी हुनेछ । भारतीय प्रधानमन्त्री मोदी र पाकिस्तानका प्रधानमन्त्री सरिफबीच पनि छुट्टै कुराकानी हुन सक्ने बताइएको छ । भारतीय प्रधानमन्त्री मोदी भने आफ्नै देशबाट ल्याइएको हेलिकप्टरमा आउने र अन्य राष्ट्रध्यक्ष र सरकार प्रमुख नेपाली सेनाको हेलिकप्टरमा गएका छन् । द्धारिकाज रिसोर्टमा बस्ने राष्ट्रध्यक्ष र सरकार प्रमुखहरु खाना खाएर दिउँसो फर्किनेछन् ।


  •  
  •  
  •