सार्क सम्मेलनमा पार्किङ समस्या

117
  •  
  •  
  •  

काठमाडौं, ३ कात्तिक (ओएनएस) : आगामी मंसिर १० र ११ मा काठमाडौंमा हुने १८औं दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सम्मेलनमा सहभागीले प्रयोग गर्ने गाडी पार्किङमै समस्या देखिएको छ ।
सार्क सम्मेलन काठमाडौंको राष्ट्रिय सभागृहमा हुने भएकाले त्यसकै आसपासमा गाडी पार्किङस्थल खोजी जारी छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार रामशाहपथको महेन्द्र पुलिस क्लव, भृकृटीमण्डपमा गाडी पार्किङ गर्ने तयारी छ । सम्मेलनमा झण्डै ४ सय ६४ जना सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । उनीहरू चढ्ने, कारगेड र सुरक्षाकर्मीले प्रयोग गर्ने गाडी करिब ५ सय हुने अनुमान छ ।
ट्राफिकले राष्ट्र प्रमुख, मन्त्री र कूटनीतिक व्यक्तिले चढ्ने र कारगेड गाडीलाई महेन्द्र पुलिस क्लबमा पार्क गर्ने तय गरेको छ । तीबाहेकका व्यक्तिले प्रयोग गर्ने गाडीलाई भृकृटीमण्डपमा पार्किङ गर्ने प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक (डिआइजी) माधव जोशीले बताए । डिआइजी जोशीका अनुसार क्लब र भृकुटीमण्डपमा गाडी नअटेमा वैकल्पिक व्यवस्थाका लागि पुरानो बसपार्क प्रयोगमा ल्याइने योजना छ ।
क्लबमा १ सय ३० देखि १ सय ४०, भृकुटीमण्डपमा १ सय ३५ देखि १ सय ५० गाडी पार्क गर्न सकिन्छ । पुरानो बसपार्कमा भने २ सय ८५ गाडी पार्क गर्न सकिने क्षमता छ ।
सम्मेलनभर भृकुटीमण्डपमा कुनै पनि कार्यक्रम वा प्रदर्शनी गर्न रोक्ने तयारी प्रहरीले गरेको छ । प्रहरीका अनुसार सम्मेलनभर भृकुटीमण्डपमा कुनै पनि कार्यक्रम र प्रदर्शनी गर्न नदिन समाज कल्याण परिषद्सँग आग्रह गरिनेछ । यस्तै पुलिस क्लबमा सम्मेलनभर खेलकुदका कुनै पनि गतिविधि हुने छैनन् ।
प्रवक्ता डिआइजी जोशीका अनुसार क्लबमा सम्मेलन सुरुअघि र समाप्तिपछिका केही दिन नियमित हुने खेललाई बन्द गरिने छ ।
सम्मेलनमा आवश्यक अति सुरक्षित ‘बुलेटप्रुफ’ गाडी भारतबाट ल्याउने तय भएको छ । बुलेटप्रुफ १० र अन्य ४५ गाडी ल्याउन लागेको हो । बुलेटप्रुफ गाडी कार्गो विमानबाट ल्याउने तयारी रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । अन्य गाडी भने गुडाएर र टेलरमा ल्याउने तयारी छ ।


  •  
  •  
  •