काठमाडौं १२ मंसिर (ओएनएस) : दक्षिण एसियाली क्षेत्रीय सहयोग (सार्क)को १८ औं शिखर सम्मेलनमा भाग लिन काठमाडौं आएका सातै मुलुकका सरकार तथा राष्ट्र प्रमुख स्वदेश फिर्ता भएका छन् । भाग लिन आएका मध्ये भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे सबैभन्दा पछि स्वदेश फर्के ।
उनी ड्ुक एयरबाट पौने १ बजे स्वदेशी फिर्ता भएका हुन् । त्यसअघि बंगलादेशकी प्रधानमन्त्री शेख हसिना शुक्रबार बिहान स्वदेश फिर्ताभएकी थिइन् । हसिना बंगलादेश एयरालाइन्स्को नियमति उडानबाट साढे दश बाजे स्वदेशतर्फ उडेकी हुन् । उनलाई उपप्रधान तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले विदाई गरे ।
यसअघि बिहिबार राति नै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफ, श्रीलंकाका राष्ट्रपति महिन्दा राजापाक्षे, माल्दिभ्सका राष्ट्रपति अब्दुल्ला यमिन र अफगानिस्तानका राष्ट्र प्रमुख असरफ घानी स्वदेश फिर्ता भएका थिए ।
काठमाडौंको राष्ट्रिय सभा गृहमा भएको शिखर सम्मेलनमा ३६ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै सकिएको थियो । सम्मेलनमा उर्जा सम्झौता गर्न महत्वपूर्ण सहमति भएको थियो ।
सार्क मुलुकका सबै राष्ट तथा सरकार प्रमुख स्वदेश फिर्ता भएपछि उपत्यकामा गुड्ने सवारी साधनमा लगाइएको जोर बिजोर प्रणाली शुक्रबार १२ बजेबाट हटाइएको छ । सार्क सम्मेलनका लागि उपत्यकाको ट्राफिक व्यवस्थापन गर्न सोमबारबाट लागू भएको जोर–बिजोर प्रणाली सार्क हटाइएको हो ।
उपत्यकामा सडकमा गुड्ने जोर बिजोर दुवै नम्बरका सार्वजनिक तथा निजी सवारी चल्न सक्नेछन् । सम्मेलनका कारण पाँच दिनदेखि सर्वसाधारणले सास्ती ब्यहोरिरहेकाले सम्मेलन सकिएलगत्तै सवारी आवागमन सहज बनाउन यो प्रणाली हटाउने निर्णय गरिएको हो ।