सार्क शिखर सम्मेलनकाे बारेमा न्यूयोर्कमा छलफल

82
  •  
  •  
  •  

काठमाडौं, १० असोज (ओएनएस) : संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिकाको न्यूयोर्कमा रहेका प्रधानमन्त्री सुशील कोइरालाले बंगलादेश र पाकिस्तानका प्रधानमन्त्रीसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् । बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना बाजेद र पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफसँगको भेटमा दुवै मुलुकको समसामयिक राजनीतिक स्थिति तथा आपसी सम्बन्धबारे छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

गएराती भएको भेटमा प्रधामन्त्री कोइरालाले नेपालको शान्तिप्रक्रिया र संविधान लेखनमा भइरहेको प्रगति तथा काठमाण्डूमा हुने दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) शिखर सम्मेलनको तयारीका बारेमा जानकारी गराउनुभएको थियो ।
बङ्गलादेशकी प्रधानमन्त्री बाजेदले सार्कको भूमिकालाई थप प्रभावकारी बनाउन यस क्षेत्रका सबै मुलुक मिलेर काम गर्नुपर्ने आवश्यकतामा प्रधानमन्त्री कोइरालाले जोड दिएका थिए ।

यस्तै पाकिस्तानी प्रधानमन्त्री सरिफले पनि सार्क शिखर सम्मेलनमा भाग लिन आफू आतुर रहेको तथा सार्कको भूमिकालाई थप प्रभावकारी तुल्याउन मिलेर काम गर्नुपर्ने आवश्यकतामा जोड दिएका छन् । यसैबीच सार्क मुलुकका विदेशमन्त्रीहरुको अनौपचारिक बैठक न्यूयोर्कमा बसेको छ । बैठकमा माल्दिभ्समा भएको सार्क मन्त्रिस्तरीय बैठकपछि भएका प्रमुख गतिविधिका बारेमा छलफल भएको थियो । सार्क क्षेत्रका विदेशमन्त्रीहरु संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिने क्रममा हाल न्युयोर्कमा छन् । पराराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले आगामी सार्क शिखर सम्मेलनका लागि नेपाल सरकारले गरेको तयारीका बारेमा जानकारी गराएका थिए ।


  •  
  •  
  •