सार्क शीखर सम्मेलनका लागि सजाइँदै सभागृह

362
  •  
  •  
  •  

मदन कोइराला

काठमाडौं, २३ असार (ओएनएस) । आगामी कात्तिकमा काठमाडौंमा हुन लागेको दक्षिण एसियाली क्षत्रीय सहयोग संगठन (सार्क) को १८औं शिखर सम्मेलनको मुख्य कार्यक्रमका लागि राजधानीको प्रदशर्नीमार्गस्थित राष्ट्रिय सभा गृह छनोट भएसँगै यसको मर्मत गरिने भएको छ । काठमाडौं महानगरपालिकाले सभागृह ममर्तका लागि गृहकार्य सुरु गरेको छ ।

महानगरपालिकाले सभा गृह मर्मतका योजना बनाउने कार्यक्रम सुरु गरेको जनाएको छ । मर्मत गर्न करिब १२ करोड रुपैंया खर्च लाग्ने काठमाडौं महानगरपालिकाका कार्यकारी प्रमुख धनबहादुर श्रेष्ठले जानकारी दिए ।

‘सभा गृहमा रहेका सबै पुराना चीजको मर्मत गर्नुपर्ने अवस्था छ’, श्रेष्ठले ओएनएससँग भने, ‘त्यसका लागि १२ करोड रुपैयाँ लाग्ने इस्टिमेट निस्किएको छ ।’ त्यसमा महानगरपालिकाले १ करोड ५० लाख लगानी गर्ने र बाँकी सरकारसँग माग गरिएको उनले जानकारी दिए ।

मर्मतको काम भने भवन विभागले गर्ने भएको छ । सार्क सम्मेलनलाई लक्षित गरी महानगरपालिकाले राजधानी सफा गर्ने अभियान संचालन गरेको छ ।

महानगरपालिकाले विभिन्न निकायसँग समन्वय गरेर विस्तारित सडक कालोपत्रे गर्ने, अव्यवस्थित विजुलीका तारलाई व्यवस्थित गर्ने, सडक, गल्ली चोकमाको भित्तामा टाँसिएका पोष्टर तथा वाल पेन्टिङ मेट्ने काम सुरु भएको महानगरपालिकाले जनाएको छ ।

महानगरपालिकाले तीनकुनेमा रहेको खाली जग्गालाई हरियाली बनाउने काम केही दिनमा नै सुरु गर्ने भएको छ । ‘तीनकुनेमा रहेको खाली जग्गामा स्थायी रुपमा पार्क बनाउने योजना भए पनि जग्गा मुआब्जाको समस्याका कारण तत्काल त्यो संभव भएन, कार्यकारी अधिकृत श्रेष्ठले भने ।

भवन विभागका प्रवक्ता राजुमान मानन्धरले अहिले प्रोजेक्ट व्यांक बनाउने काम भइरहेको बताए । ‘हामीले आर्किटेक हाएर गर्ने काम भइरहेको छ, मानन्धरले ओएनएससँग भने, समय छोटो छ । त्यो समयभित्र सक्ने गरी काम गर्छौ ।’

सभागृहमा साउण्ड सिस्टम राम्रो बनाउने, अधिकांश सिट फेर्नुपर्ने, एसी नयाँ जडान गर्नुपर्ने काम पहिलो चरणमा गर्ने बताए ।
संसद सचिवालयभित्र रहेको पुरानो प्रतिनिधिसभा हल दक्षिण एसियाली क्षेत्रीय संगठन (सार्क) सम्मेलनका लागि अनुपयुक्त भएपछि सरकारले राष्ट्रिय सभा गृहमा सार्क सम्मेलन गर्ने तयारी गरेको छ ।

सभामुख सुवास नेम्वाङले पुरानो र ऐतिहासिक भन्दै पुरानो प्रतिनिधिसभामा सार्क सम्मेलन गर्न सुझाव थिए ।

तर, भवनभित्र ठूला खम्बा रहेको र त्यसले सम्मेलनस्थललाई प्रभावित पार्ने भन्दै उक्त भवनमा सम्मेलन गर्न नमल्निे बताएपछि काठमाडौं महानगरपालिकाले राष्ट्रिय सभागृहमा सार्क सम्मेलन गर्ने तयारी गरेको हो ।

अन्र्तराष्ट्रिय सम्मेलन केन्द्र्रमा संविधासभा भएका कारण सरकारले सार्क सम्मेलन सिंहदरवारस्थित पुरानो सिंहदरवारमा गर्ने तयारी गरेको थियो । तर, भवन पुरानो भएको र भवनभित्र ठुल ठुला खम्बा रहेका कारण केही अप्ठ्यारो हुने भएकाले अहिले राष्ट्रिय सभागृहमा सम्मेलन गर्ने पक्का भएको स्रोतले बतायो ।


  •  
  •  
  •