काठमाडौं, ५ मंसिर (ओएनएस) : १८ औं सार्क सम्मेलनमा नेपालको तर्फबाट २४ सदस्यीय प्रतिनिधिमण्डलले भाग लिने भएको छ । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री सुशील कोइरालाको नेतृत्वमा ५ सल्लाहकारको समूहसहित २४ सदस्यीय प्रतिनिधिमन्डलले भाग लिने जनाएको हो ।
यस्तै मन्त्रालयले सार्क मन्त्रिस्तरिय बैठकको लागि महेन्द्रबहादुर पान्डेको नेतृत्वमा १८ सदस्यीय प्रतिनिधि मन्डलको नाम सार्वजनिक गरेको छ । मन्त्रिस्तरिय बैठक मंसिर ९ मा हुनेछ । यस्तै मंसिर ७ र ८ मा हुने सचिवस्तरिय प्रतिनिधिमन्डलको टोली ११ सदस्यीय हुनेछ भने शनिवार हुने आयोजक समितिको प्रतिनिमन्डल ७ सदस्यीय हुनेछ ।
नेपाली प्रतिनिधिमण्डलमा प्रधानमन्त्री सुशील कोइराला, परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे, मुख्य सचिव लीलामाणि पौड्याल, कामु परराष्ट्र सचिव शंकरदास वैरागी, भौतिक पूर्वाधार तथा यातायात सचिव तुलसीप्रसाद सिटौला, ऊर्जा सचिव राजेन्द्रकिशोर क्षेत्री, बंगलादेशका लागि नेपाली राजदूत हरिकुमार श्रेष्ठ, पाकिस्तानका लागि नेपाली राजदूत भरतराज पौड्याल छन् ।
यस्तै परराष्ट्र मन्त्रालयको क्षेत्रीय संगठन महाशाखाका प्रमुख (सहसचिव) यज्ञबहादुर हमाल, परराष्ट्र प्रवक्ता खगनाथ अधिकारी, भारतका लागि नेपाली कार्यवाहक राजदूत कृष्णप्रसाद ढकाल, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव जीवराज कोइराला, उद्योग मन्त्रालयका सहसचिव यमकुमारी खतिवडा, परराष्ट्र मन्त्रालयका उपसचिवहरू मणिरत्न शर्मा, आनन्दप्रसाद शर्मा, रिता धिताल, लोकबहादुर पौडेल क्षेत्री, परराष्ट्रका शाखा अधिकृतद्वय भोगेन्द्र लिङ्देन र बिनोद मुखिया पनि नेपाली प्रतिनिधिमण्डलमा छन् ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गोविन्दराज पोखरेल, प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार दिनेश भट्टराई, प्रधानमन्त्रीका आर्थिक सल्लाहकार चिरञ्जीवी नेपाल, प्रधानमन्त्रीको प्रमुख स्वकीय सचिव वसन्त गौतम र परराष्ट्रमन्त्रीका सल्लाहकार अश्विन पुडासैनीलाई सल्लाहकार मन्डलमा राखेको छ ।