आयोजकलाई हतार छैन, अन्यलाई शिखर सम्मेलन लागि सक्यो

48
  •  
  •  
  •  

काठमाडौं, २१ असोज : दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन -सार्क) को १८ औं शिखर सम्मेलनका आयोजक मुलुकले औपचारिक निमन्त्रणा नगर्दै सदस्य मुलुकका राष्ट्र एवं सरकार प्रमुखहरुले समय छुट्टाएको जानकारी दिएका छन् । आयोजक मुलुकले निमन्त्रणा गर्न जान भ्याएको छैन् । परराष्ट्र मन्त्रालय उच्चस्रोतका अनुसार भारत, पाकिस्तान र बंगलादेशका प्रधानमन्त्रीले शिखर सम्मेलनको लागि आफूहरुले समय छुट्याई सकेको जानकारी दिएका छन् । ती मुलुकले सार्कलाई समयमा छुट्याएको समाचार उनीहरुको मुलुकको संचारमाध्यममा प्राथमिकताको साथ छापिएको छ । तीन मुलुकमा नै नेपालको तर्फबाट अझै औपचारिक निमन्त्रणा भने हुन सकेको छैन् । शिखर सम्मेलन मंसिर १० र ११ मा हुने यसअघि नै निश्चित भएकोले उनीहरुले सार्कलाई समय निकालेका हुन् ।

सार्कको परम्परा अनुसार शिखर सम्मेलनको तिथी तय भएपछि आयोजक मुलुकले राष्ट्र एवं सरकार प्रमुखलाई समकक्षीको निमन्त्रणा लिएर परराष्ट्र वा कुनै अन्य मन्त्रिले सदस्य मुलुकको भ्रमण गर्दै औपचारिक निमन्त्रणा पत्र हस्तान्तरण गर्ने प्रचलन छ । उक्त निमन्त्रणा संगै शिखर सम्मेलनको तयारी बारे जानकारी गराउने ‘थिम’ तथा घोषणा पत्रको तयारी स्पष्ट पार्ने उनीहरुको सुझाव ग्रहण गर्ने प्रचलन छ ।

सरकारले आफ्नो तयारीको औपचारिक जानकारी र निमन्त्रणो माल्दिभ्स र श्रीलंकाका राष्ट्रपतिलाई गरिसकेको छ । उनीहरुले शिखर सम्मेलनको तयारीबारे बुझै यसलाई गति दिन आवश्यक भएको जनाइसकेका छन् । दुई बाहेक अन्य सदस्य मुलुकमा भने औपचारिक निमन्त्रणा पाएका छैनन । शिखर सम्मेलन आजको ५० औं दिनमा हुदैछ । सदस्य मुलुकमा अझै समय नमिलेकोले परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे जापान भ्रमणमा गएका छन् । उनी जापानबाट फर्केलगत्तै निमन्त्रणाको लागि बाकी पाँच मुलुक भारत, बंगलादेश, भुटान, अफगानिस्तान र पाकिस्तान जाने परराष्ट्र मन्त्रालयले जनाएको छ । यसरी औपचारिक निमन्त्रणा अगावै सदस्य मुलुकहरु उत्साहित भएर सार्कको बारेमा सोच्नुलाई परराष्ट्र अधिकारीले सार्कको सकारात्मक पक्ष भनेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्क शिखर सम्मेलनको लागि आफूले समय ‘बुक’ गरिसकेको जानकारी दिएका छन् । उनले शिखर सम्मेलन पछि पनि एक दिन बढि नेपालमा बस्ने योजना नेपाल समकक्षी सुशील कोइरालालाई सुनाएका छन् ।  दुईपक्षीय छलफल र लुम्विनी तथा जनकपुरको भ्रमणको लागि त्यस्तो जानकारी गराएको परराष्ट्र मन्त्रालय उच्चअधिकारीले बताए ।

टाइम्स अफ इन्डियाले मोदीको नोभेम्बरको तालिका सार्वजनीक गर्दै उनी सुस्त गतिमा रहेको सार्कलाई उर्जा दिन तयार भएको समाचार छापेको छ । मोदी सार्क शिखर सम्मेलन अघि म्यानमार र त्यसलगत्तै अस्ट्रेलिया पुग्ने अनि शिखर सम्मेलनको लागि नेपाल भ्रमण गर्ने तयारी भइरहेको समाचार टाइम्स अफ इन्डियाको अनलाईन संस्करणमा छ । भारतीय प्रधानमन्त्री मोदीले यसअघि नै जनकपुर र लुम्विनी भ्रमण गर्ने बताइसकेको र सार्कको समयमा उनी त्यहा जाने समेत समाचारमा उल्लेख छ । त्यस्तै बंगलादेशका समाचार माध्यमहरुले पनि प्रधानमन्त्री शेख हसिना वाजेदले नोभेम्वरमा नेपाल भ्रमण गर्ने खवर छापेको छ । त्यस्तै पाकिस्तानी संचारमाध्यमले पनि पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफ सार्क शिखर सम्मेलनमा काठमाडौं जाने भन्दै समचार छाप्दैआएको छ । मोदी र सरिफको भेट काठमाडौंमा हुने भन्ने समाचारले त्यहाँ प्राथमिकता पाएको छ ।

राष्ट्रसंघिय महासभाको साइडलाइन भेटवार्तामा मोदी, सरिफ, हसिना र श्रीलंकाली राष्ट्रपति महिन्दा राजापक्षले पनि प्रधानमन्त्री सुशील कोइरालासंगको छुट्टा छुट्टै भेटमा पनि शिखर सम्मेलनको तयारी के हुदैछ र आफू त्यो भ्रमणमा आउन आतुर रहेका जानकारी गराएका थिए । सदस्य मुलुकहरुले सार्कलाई महत्व दिएका उनीहरुको अभिब्यक्तिले स्पष्ट हुन्थ्यो, एक सहभागिले भने । ‘सार्कको तयारी र यसको निमन्त्रणाको बारेमा न्यूयोर्कमा पनि छलफल भयो । सबै सकारात्मक छन । धेरैले समय छुट्टयाई सकेको जानकारी गराइएको छ,’ परराष्ट्रका कामु सचिव शंकरदास बैरागिले कान्तिपुरसँग भने । शिखर सम्मेलनको तयारीमा हाम लिागिरहेकेा अवस्थामा सदस्य मुलुकहरुले देखाएको उत्साह सकारात्मक छ, उनले स्पष्ट पारे ।

अनौपचारीक साइडलाइन छलफलमा सार्कको तयारी तिव्र रुपमा भएको जानकारी दिइयो अव बाकी सदस्य मुलुकमा थिम र घोषणा पत्रको तयारी बारे जानकारी गराउन तथा निमन्त्रणा दिन परराष्ट्रमन्त्री जाने उनले बताए । प्रधानमन्त्रीको राष्ट्रसंघ भ्रमण निकै सफल रहेको भन्दै उनले भने ‘सार्कको साइडलाइन विदेशमन्त्री स्तरीय बैठक, राष्ट्र तथा सरकार प्रमुखहरुसंगको साइडलाइन बार्ता पनि फलदायी भएको छ । तर बार्ताहरुमा धेरै सार्क -यस क्षेत्र)को विकास र गतिमा नै केन्दि्रत रहेको थियो ।’ शिखर सम्मेलनको तयारीको बारेमा परराष्ट्रमन्त्री पाण्डेले विस्तृत विवरण नै प्रस्तुत गरेका थिए । स्रोतका अनुसार भारतले आवश्यक सयोग गर्न पनि तयार रहेको जानकारी दिएको थियो । भारतले सरकार एवं राष्ट्र प्रमुखहरु चढ्ने बुलेटप्रुफ कार तथा अन्य आवश्यक गाडीहरु सहयोग गर्न तयार रहेको बताइसकेको छ । परराष्ट्र अधिकारीहरुले त्यस्ता गाडीहरु हेर्ने र सहयोगको मोडालिटि बुझ्ने काम समेत गरिसकेका छन। सार्कको अन्य भौतिक कार्यको तयारी पनि तिव्र पारिरहेको जानकारी सचिव बैरागीले दिए ।

कान्तिपुर दैनिकबाट

 

 


  •  
  •  
  •