दक्षिण अफ्रिकाको पहिलो जित, अफगानिस्तान पराजित

397
  •  
  •  
  •  

ICC World Twenty20 India 2016:  South Africa v Afghanistanकाठमाडौं, ७ चैत(ओएनएस) : जारी टि-२० विश्वकप क्रिकेट प्रतियोगिताको आफ्नो दोस्रो खेलमा दक्षिण अफ्रिकाले विजय हासिल गरेको छ ।
आज मुम्बईको वानखडे मैदानमा भएको खेलमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई ३७ रनले पराजित गर्दै प्रतियोगितामा आफ्नो पहिलो जित दर्ता गरेको हो । २ सय १० रनको विजय लक्ष्य पछ्याएको अफगानिस्तानले निर्धारित २० ओभरमा आफ्ना सबै विकेट गुमाउँदै मात्र १ सय ७२ रन जोड्न सफल भएपछि दक्षिण अफ्रिकाले ३७ रनको जित हासिल गरेको हो ।

अफगानिस्तानका लागि मोहम्मद सहजादले उत्कृष्ट सुरूवात दिलाएपनि अन्य ब्याट्स्म्यानले उक्त सुरूवातलाई लामो समय कायम राख्न नसक्दा खेल दक्षिण अफ्रिकाको पोल्टोमा सुम्पिन बाध्य भयो । सहजादले मात्र १९ बलमा ३ चौका र ५ छक्काको मद्दतले ४४ रन जोडेका थिए । यस्तै, गुलबदिन नैबले २६ रन, नुर अली जार्दन र समिउल्लाह शेनवरीले समान २५-२५ रन जोडेका थिए ।

यता अफगानिस्तानलाई उक्त स्कोरमा समेट्नका लागि दक्षिण अफ्रिकाका क्रिस मोरिसले ४ विकेट लिएका थिए भने इमरान ताहिर, कायल एबोट, कागिसो रबादाले समान २-२ विकेट लिएका थिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरको खेलमा ५ विकेट गुमाउँदै २ सय ९ रन जोडेको थियो । उसका लागि एबी डिभिलियर्सले बिस्फोटक ब्याटिङ गर्दै ६४ रन जोडेका थिए । उनले मात्र २९ बलमा ४ चौका र ५ छक्काको मद्दतले ६४ रन जोडेका हुन् । यस्तै, क्वान्टन डि ककले ४५ रन, फाफ डु प्लेसिसले ४१ रन, जेपी डुम्नीले अविजित २९ रन र डेभिड मिलरले १९ रन जोडेका थिए ।

यता अफगानिस्तानका लागि अमिर हाम्जा, दवलत जर्दन, शापुर जर्दन, मोहम्मद नाबिले समान १-१ विकेट लिएका थिए ।

खेलको म्यान अफ दी म्याच ४ विकेट लिएका क्रिस मोरिस घोषित भएका छन् ।


  •  
  •  
  •