काठमाडौं ३ असोज ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष दूतका रूपमा काठमाडौं आएका विदेशसचिव सुव्रमन्यम जयशंकर निरास भएर शनिबार दिल्ली फर्किएका छन् । स्वदेश जानुअघि विमानस्थलमा उनले निर्माण प्रक्रियामा समर्थन रहे पनि संविधानमा समर्थन नगर्ने संकेत गरे । ‘नेपालको संविधान निर्माणमा भारतले जोडदार समर्थन गरेको छ ।
हामी चाहन्छौँ, संविधानलेखन सम्पन्न गरिने अवसर उल्लासमय र सन्तोषजनक हुनुपर्छ न कि आन्दोलनपूर्ण र हिंसात्मक,’ अन्तर्राष्ट्रिय विमानस्थलमा जयशंकरले पचास सेकेन्ड लिखित प्रतिक्रिया पढे, ‘नेपालका राजनीतिक नेताहरूले यो महत्त्वपूर्ण घडीमा आवश्यक लचकता र परिपक्वता अपनाई सर्वस्वीकार्य, स्थायी र भरपर्दाे संविधान जारी गर्न सक्षम हुनेछन् भन्ने हामी आशावादी छौँ ।’
गत सोमबार भारतीय विदेशमन्त्री सुष्मा स्वराजले यही अन्तर्वस्तुको विज्ञप्ति जारी गरेकी थिइन् । विमानस्थलमा बिहान ९:२५ मा पत्रकारलाई प्रतिक्रिया दिन आएका जयशंकरले दोहोरो कुरा गरेनन् । उनी लिखित रूपमा टिप्पणी पढेर हिँडेका थिए । उनले भारतका प्रधानमन्त्रीको विशेष दूतका रूपमा काठमाडौंको दुईदिने भ्रमण गरेको तथा राष्ट्रपति डा. रामवरण यादव, प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी शर्मा ओली, एमाओवादी अध्यक्ष प्रचण्ड, कांग्रेस वरिष्ठ नेता शेरवहादुर देउवा, मधेसी दलका नेतालगायतसँग भेटवार्ता गरेको बताएका थिए ।
जयशंकरलाई नेपालका लागि भारतका राजदूत रन्जित रे, परराष्ट्र मन्त्रालयका प्रोटोकल अफिसर र भारतीय दूतावासका प्रवक्ता अभयकुमारले बिदाइ गरेका थिए ।
नयाँपत्रिकाबाट