रसियन विमान हावामा नै भयो टुक्राटुक्रा, ८ किमी टाढा भेटियो शव

262
  •  
  •  
  •  

काठमाडौँ, १६ कात्तिक(एजेन्सी) : इजिप्टमा दुर्घटनामा परेको रसियन यात्रुबहा विमान एयरबस ए-३२१ हावामा नै विस्फोट भएर टुक्राटुक्रा भएको खुलासा भएको छ । हावामा नै टुक्रा टुक्रा भएकै कारण विमानका टुक्राहरू टाढाटाढासम्म फैलिएको समाचारमा जनाइएको छ ।

दुर्घटनाका सम्बन्धमा जाँच गरिरहेका एक विज्ञको भनाईलाई उदृत गर्दै सञ्चारमाध्यमहरूले विमान दुर्घटनामा भएको प्रमुख केन्द्र मानिएको स्थानभन्दा ८ किलोमिटर टाढा एक युवतीको शव फेला परेको जनाएका छन् । इजिप्टको शर्म-अल-शेखबाट रूसको सेन्ट पिटर्सवर्गका लागि उडेको विमान शनिबार दुर्घटनाग्रस्त हुँदा विमानमा सवार सबै २ सय २४ जनाको मृत्यु भएको थियो । दुर्घटनाका कारण बारे विज्ञहरूले जाँच गरिरहेका छन् ।

यता आतंकी संगठन इस्लामिक स्टेट(आईएस)ले भने उक्त विमान आफूले खसालेको दावी गरेको छ । तर, विज्ञहरूले विमानको उडिरहेको उचाईमा कुनै पनि मिसाइल पुग्न नसक्ने भन्दै आईएसले अहिलेसम्म कसरी खसाल्न सफल भएको भन्नेबारे कुनै तथ्य प्रस्तुत गर्न नसकेको बताइरहेका छन् ।

यस्तै, केही विज्ञहरूले विमानमा प्राविधिक समस्या भएकाले विमान दुर्घटनामा परेको हुन सक्ने बताएका छन् ।


  •  
  •  
  •