ग्रामिण सडकको बेहाल

230
  •  
  •  
  •  

टोपलाल अर्याल
गुल्मी १६ साउन (ओएनएस) : वर्षायाम सुरु भएसँगै गुल्मीका ग्रामीण क्षेत्रका गाविसमा यातायात सुबिधा ठप्प भएको छ । यातायात ठप्प भएसँगै सर्बसाधारणलाई सास्ती भएको छ । सदरमुकाम तम्घासबाट जिल्लाको क्षेत्र नम्बर एक र क्षेत्र नम्बर तीनतर्फका अधिकांश गाउँमा सबारी ठप्प भएको हो ।

असार पहिलो सातासम्म जिल्लाभरनै गाडिहरू सञ्चालने भए पनि हाल वर्षाले बाटो बिगारेपछि यातायात ठप्प भएका हुन् । वर्षाले बाटो खोलेको छ भने पहिरो पनि झरेको छ । ग्रामीण भेगमा रहेका कच्ची सडक प्रत्येक वर्षायाममा बिग्रने गरेका छन् । जसले गर्दा बिकट गाविसहरूमा किराना सामानको मुल्य पनि बृद्धि भएको छ । साथै बिरामी तथा अत्यावश्यक काम पर्दा जिल्ला सम्म आवत जावत गर्न पनि सर्वसाधरणलाई मुस्किल परिरहेको छ ।

जिल्लामा रि िदेखि तम्घाससम्म मात्रै पक्की बाटो छ । सबैभन्दा व्यस्त कच्ची सडक रिडि–रुद्रबेणी–वामी–टक्सार सडक खण्ड लामो समयबाट बन्द भएको छ । गुल्मी यातायात समिति क्षेत्र नम्बर तीन टिकट बुकिङ सेन्टरका चुराबहादुर थापाले क्षेत्र नम्बर तीनका अग्लुङ, हाडहाडे, पौँदीअमराई, मुसिकोट, ईन्द्रेगौँडा, दर्लिङ, नेटा, ह्वाङदी लगायतका गाविसमा सबारीसाधन आवतजावत बन्द भएको बताए । त्यस्तै क्षेत्र नम्बर एकका रिमुवा, खैरेनी, दौँगा लगायतका क्षेत्रमा पनि सबारी साधान ठप्प भएका छन् । तम्घास–रातडाँडा–इन्द्रेगौँडा मोटरबाटो बन्द भएपछि अर्लाङकोट, वामी, कुर्घा, आँपचौर लगायतका क्षेत्रमा पनि सबारी साधान बन्द भएका छन् ।

अग्लुङका शिक्षक चक्र चन्दले बर्षायाम सुरु भएसँगै गाउँमा यातायात ठप्प भएको बताए । दर्जनौँ ठाउँमा पहिरो झरेकोले यातायातका साधन बन्द भएको उनको भनाई छ ।
जिल्लाको भनभने खोलामा बन्न थालेको पुलको पखाई लामो भइसेको छ । विगत ४ वर्षदेखि निर्माण थालेर अलपत्र परेको पुलको कारणले भनभनेको बाटो हुँदै चल्न सबारी साधानहरूलाई बिकल्प खोज्नुपर्ने बाध्यता छ । क्षेत्र नम्बर एकका कतीपय गाविसबाट तम्घास सम्म हिँडेर आउन दुई दिन पनि लाग्ने अवस्था छ ।

स्थानीय विकास अधिकारी हरि प्रसाद ज्ञवाली पानी बन्द नहुँदै गाउँका बाटाहरूको जिर्णोद्धार गर्न नसकिने बताउँछन् । वर्षायाम सुरुभएसँगै सवारी साधान चल्ने रुटमा पनि भाडा दर मनोमानी हुँदा यात्रु मर्कामा पर्ने गरेका छन् । यातायत ब्यवसायीहरूले भाडामा आफ्नै मोल कायम गर्न थालेको जनगुनासो बढेको छ । वर्षायाममा गाडि ओहोरदोहार गराउँदा धेरै खर्च हुने भएको भन्दै उनीहरूले यात्रुहरूसँग ३० देखि ५० प्रतिशत सम्म बढी भाडा लिने गरेका छन् । ‘वर्षामा गाडि बढी मार खान्छ, घाटाको ब्यापार त हुँदैन नी’, एक जना जिप चालकले भने, ‘५० देखि एक सयसम्म गाउँमा भाडा बढेको छ ।’ ड्राईभरहरूले यातायात समितिले तोकेको रकममा आफैले मोल मोलाई गरेर रकम लिएका हुन् ।


  •  
  •  
  •