काठमाडौं, २१ माघ (ओएनएस) : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीको देवदह मेडिकल कलेजलाई मेडिकल काउन्सिल ऐन, नियममा व्यवस्था नै नभएको र गलत प्रतिवेदन प्रस्तुत गरी कलेजलाई सम्बन्धन दिलाउन सिफारिस गर्ने १७ जनाविरूद्ध भ्रष्टाचार मद्दा दायर गरेको छ ।
बुधबार एक विज्ञप्ती जारी गर्दै आयोगले व्यवस्था नै नभएको ४० जना विद्यार्थीहरुका लागि एम. बी. बी. एस. कक्षा सञ्चालन गर्न अनुमति दिएकाले कारबाही होस् भनि आयोग समक्ष आएको उजुरी निवेदनमाथि अनुसन्धान गर्दा देवदह मेडिकल कलेजले पेश गरेको झूठ्ठा र कपोल्कल्पित विवरणलाई आधिकारिक मानेर सम्बन्धन दिने कार्य गरिएको पाइएको उल्लेख गरेको छ । विज्ञप्तिमा नेपाल मेडिकल काउन्सिल ऐन, नियमले तोकेको मापदण्ड पूरा नगर्दा नगर्दै सम्बन्धन दिलाउन १७ जनाले सिफारिस गरेको उल्लेख छ ।
आयोगले उपभोक्ता अधिकार मञ्चका ज्योती बानिया, डा. शिवजी पौडेल, काठमाडौ विश्वविद्यालयका प्रबन्धक प्रद्युम्न श्रेष्ठ, काठमाडौ विश्वविद्यालयका परीक्षा नियन्त्रक डा. पन्ना थापा, डा. जगदिश चटौत, नेपाल मेडिकल कलेजका प्राध्यापक डा. रमेशप्रसाद सिंह, नेपाल मेडिकल काउन्सिलका सदस्य डा. मनोहर प्रधान, डा. अनिल कुमार झा, डा. रोशन पिक्षा, डा. निरज पन्त, डा. कुलदीप गोइत, डा. अंकुर साहविरूद्ध भ्रष्टाचार मुद्धा दायर गरिएको विज्ञप्तिमा जनाएको छ ।
यस्तै, आयोगले मेडिकल काउन्सिलका उपाध्यक्ष अनवर एलकी अन्सारी, महाराजगञ्ज क्याम्पसका सहप्रध्यापक डा. सतिसकुमार देव, देवदह मेडिकल कलेजका सञ्चालक तथा निर्देशक डा. रजनिश जिनदत्त, सोही मेडिकल कलेजका अध्यक्ष निलकन्ठ काफ्ले र हिमलाल ज्ञवालीविरुद्ध भ्रस्टाचार मुद्दा दायर गरेको छ ।