जब गुड्न सक्दैनन् मेरा ह्विल चियरहरु…

सन्दर्भः अन्तर्राष्ट्रिय अपाङ्ग दिवस
542
  •  
  •  
  •  

सवालहरु जब सम्म मबाट हाम्रो बन्दैन
मेरो जीन्दगीका भोगाइहरु
जबसम्म मभित्र मात्र सिमित हुन्छ

रुपा थापा

हाम्रा अधिकारका एक थान दस्तावेजहरु
जब धुलाम्य भएर थन्किन्छन्
म मेरा अधिकारका दस्तावेजमा जमेका
ति धुलाहरुलाई टकटक्याउँदै
फेरि पनि भन्छु
ए सरकार मलाई
दयाको एक थान दृष्टिले मात्र हैन
हाम्रा अधिकारका ति दस्तावेजहरुलाई कार्यान्वयन गर

जब गुड्न सक्दैनन् मेरा ह्विल चियरहरु
तिम्रा ति सडकमा
जब सम्म बन्न सक्दैन
मैले काम गर्ने मेरो कार्यालय अपाङ्गतामैत्री
र प्रश्नहरु उठाइन्छ मेरा कार्य क्षमता माथी

अपाङ्गता भएका व्यक्तिहरुको
अधिकारको यो लामो लडाईंमा
हामी मात्रै हिड्छौं साथी
कृतिम हात अनि कृतिम खुट्टाहरुसँग
हामी मात्रै हिड्छौँ साथी
त्यो क्यालिफोरले बनाएका चोटहरुलाई महसुस गर्दै

नत्र यो सभ्य समाजका बुद्दिजीवीहरु
किन त्यति सजिलैसँग दाज्छन्
हरेक भत्केका टुटेका अनि फुटेका व्यवस्थाहरुसँग
मेरो शारीरिक कमजोरिलाई

हो हामी मात्रै हिडेछौँ साथी
यो आवाजको दुँनियामा सांकेतिक भाषाबाट
आफ्ना अधिकारहरु खोज्नलाई

पिडाहरु जब म बाट हाम्रो बन्दैन
हाम्रा सवालहरु जबसम्म साझा सवाल बन्दैन
तब सम्म समाज परिवर्तन गर्नको लागि
लेख्ने एउटा लेखकले पनि
बडो गर्वका साथ प्रयोग गरिदिन्छ त्यो असभ्य शव्दावलीलाई

सोच्ने गर्छु के ति असभ्य शव्दावलीहरुले
के यो सभ्य समाजको मुटु दुख्दैन
कि मुटु बिनानै चल्दै छ
यो सभ्य समाजका सभ्य मानिसहरुको संसार

ए पाच फिट पाच इन्चका मान्छेहरु
कसरी तिमिले बेवास्ता गर्न सक्छौँ
मेरो दुई फिट पाच इन्चको शरिरलाई

तिमी बलियौ छौँ
यस्को मत्लव यो होइन कि
यहा तिमी मात्रै छौँ
कसरी तिमीले मेरा भोगाइहरुलाई बेवास्ता गर्न सक्छौ
हाम्रा तमाम ति लडाइहरुलाई
कसरी तिमीले बेवास्ता गर्न सक्छौँ

के सक्छौँ तिमी
मात्र एक दिन आँखामा पट्टि बाधेर हिड्नलाई
के सक्छौँ तिमी एक दिन मात्र
आवाज बिहिन बनेर हिँड्नलाई
के सक्छौँ तिमी एक दिन मात्र
मेरो ह्विल चियरमा बसेर हिँड्नलाई

बस एक दिनको लागि मात्र भए पनि महसुस गरिदिनु
हाम्रा तमाम ति भोगाइहरुलाई
तिमीले पनि बुझ्नै छौ
बाधा मेरो शरिरमा कैले थिएन
बाधा त तिम्रो भौतिक संरचनामा थियो
जसको कारण पटक पटका रोकिरह्यो
मेरो जीन्दगीका यात्राहरुलाई

फेरि पनि आह्वान गर्छु
आउँ मेरा सेता छडिहरु
आउँ मेरा बैशाखिहरु
आउँ मेरा कृतिम हात खुट्टाहरु
आउँ साथिहरु हातबाट संकेत गर्दै
अझै पनि बाँकि छ
तिमीले र हामीले पार गर्नुपर्ने
अवरोधका ति लामा श्रृङ्खलाहरु

हो अब सबै मिलेर कार्यान्वयन गराउँनुछ
हाम्रा अधिकारका ति एक थान दस्तावेजहरुलाई
जस्को निम्ति लडेका थियौँ हामीले
एउटा लामो लडाईँ

हे सुनाखरी हुँ म भिरमा नै फुल्ने छु
कमलको फुल हुँ म
हिलोमा नै फुल्ने छु
त्यसैले जस्तो छु म जे छु म
बस मलाइ निर्वाध रुपमा फुल्ने
एउटा साझा बगैँचा देऊ


  •  
  •  
  •