आरजु म्याडमलाई लाग्यो होला-यो जर्नेल पनि जड्याहा नै रहेछ

493
  •  
  •  
  •  

खासमा प्रधानमन्त्री देउवासँग मलाई परिचित गराएको सुरक्षा परिषदले नै हो । म दिनमा एकपटक प्रधानमन्त्रीसँग भेट्ने वा ब्रिफिङ गर्ने मौका पाउँथेँ । यही क्रममा उहाँ मेरो कामबाट प्रभावित हुनुभएको थियो ।

प्रधानमन्त्रीको अडानले बल्लतल्ल अमेरिका त पुगियो, तर राष्ट्रपति बुस र राष्ट्रसंघका महासचिवसँगको भेटमा मलाई राखिएको रहेनछ । परराष्ट्रका सम्बन्धित व्यक्तिले मेरो नाम हटाएको जानकारी पाएँ । बुससँग भेट्ने मौका छुटाउने पक्षमा म थिइनँ । गइसकेपछि केही नबोली मुन्टोमात्र हल्लाएर फर्कने स्वभावको पनि परिनँ । मौका परे केही न केही कुरा राखौंला भन्ने थियो ।

मेरो हुटहुटी देउवापत्नी आरजुले थाहा पाइसक्नुभएको थियो ।

‘विषयवस्तुको ज्ञान र छलफल गर्ने सीप हेर्दा कटवाल जर्सापलाई लान उपयुक्त होला,’ उहाँले प्रधानमन्त्रीलाई सुझाव दिनुभयो ।

‘म जहाँ जहाँ जान्छु जर्साप सँगै जानुहुन्छ,’ प्रधानमन्त्रीले टुंगो लगाइदिनुभयो ।

वासिङटनको कार्यक्रम सकेर हामी न्युयोर्क गयौं । न्युयोर्कस्थित ट्विन टावरमा आतंककारी हमला भएको केही महिना मात्र भएको थियो । सुरक्षा जाँच निकै कडा थियो । मेरो ब्रिफकेसबाट एउटा नेल कटर पनि बरामद भयो । त्यो बोकेर जहाज चढ्ने अनुमति रहेनछ । सेक्युरिटीले मलाई देखाएरै त्यसलाई टुक्रा–टुक्रा पार्‍यो ।

बेलुकी न्युयोर्कको नेपाली स्थायी नियोगमा डिनर भयो । प्रधानमन्त्रीको प्रतिनिधिमण्डल, सांसद र नियोगका कर्मचारी भोजमा सामेल थिए । वासिङटनमा राष्ट्रपति बुससँगको भेटले प्रधानमन्त्री उत्साहित हुनुहुन्थ्यो । मेरो पहलमा पेन्टागन अधिकारीसँग भएको सकारात्मक कुराकानीले पनि उहाँ खुसी हुनुभएको थियो ।

डिनरमा मदिरा खुलिहाल्यो । सबैले चियर्स गर्नुभयो । म अलिकति तर्किएर बसेँ ।

‘जर्साप, एक पेग लिए हुन्छ नि !’ प्रधानमन्त्रीले अफर गर्नुभयो ।

मैले अघिपछि उहाँको अगाडि ड्रिंक नलिएकाले उहाँ ‘एक पेग’ भनिरहनुभएको थियो ।

‘थ्यांक यु सर,’ म अनकनाएँ, ‘टुरभरि नखाने विचार गरेको छु ।’

उहाँले फेरि अफर गर्नुभयो । नाइँ भन्न पनि नमिल्ने, पिउन पनि उचित नलागिरहेको अवस्था आयो ।

‘हजुरको भ्रमण सफल पारौं, काठमाडौं गएर मस्तले खाऊँला नि,’ मैले भनें ।

त्यही माहोलमा संयुक्त राष्ट्रसंघीय महासचिव कोफी अनानसँगको भेट प्रसंग निस्कियो । अनानसँगको भेटमा पनि मेरो नाम छुटाइएको रहेछ ।

प्रधानमन्त्रीले तुरुन्त आदेश दिइहाल्नुभयो, ‘जर्सापको नाम किन छुटाएको ? तुरुन्त हाल्नुस् ।’

अनानसँगको भेटमा म पछिल्लो लहरमा बसेको थिएँ । सामान्य शिष्टाचारपछि प्रधानमन्त्रीले भन्नुभयो, ‘माई जेनरल विल ब्रिफ यु ।’

प्रधानमन्त्रीको आदेशअनुसार मैले तीन–चार मिनेट कुरा राखेँ । त्यसमा नेपालको माओवादी आतंक र सुरक्षाका विषयवस्तु नै थिए ।

हाम्रो प्रतिनिधिमण्डल अमेरिकाबाट बेलायत फर्कियो । बेलायती प्रधानमन्त्री टोनी ब्लेयरलाई भेटेपछि देउवा झन् खुसी हुनुभयो । ब्लेयरसँग पनि अन्तर्राष्ट्रिय आतंकवादविरुद्ध एकजुट भएर लाग्ने कुरा भयो । नेपाल पनि आतंकवादको चपेटामा परेको कुरा प्रधानमन्त्री देउवाले राख्नुभयो ।

बिबिसीले प्रधानमन्त्रीसँग अन्तर्वार्ता लिन खोज्यो । उहाँले तुरुन्त दिनुभएन । के के बोल्ने सल्लाह गरेर मात्र उहाँ अन्तर्वार्ताका लागि तयार हुनुभयो । प्रतिनिधिमण्डलसँगको सरसल्लाहअनुसार देउवाले एकदम राम्रो बोल्नुभयो ।

त्यही साँझ प्रधानमन्त्रीबाट मलाई बोलावट भयो । सिभिल पहिरनमै गएँ ।

देउवा दम्पतीमात्र बसेको सुइटमा भित्र डाक्नुभयो ।

‘जर्साप राज होस्,’ म्याडमले भन्नुभो ।

‘तपाईंलाई अहिलेसम्म मैले केही सोधिनँ । खर्चबर्च के कसो थियो ?’ प्रधानमन्त्रीले सोध्नुभयो ।

मैले कुरा बुझिहालेँ, तुरुन्त जवाफ दिएँ, ‘प्रशस्त छ, थ्यांक यु हजुर ।’

उहाँले मलाई पैसाबारे सोध्नु अचम्म मान्नुपर्ने कुरा होइन । प्रधानमन्त्रीका प्रतिनिधिमण्डलमा तीन–चार जना सांसद थिए । उनीहरूलाई दिइरहन उहाँले गोजीबाट फुत्तफुत्त डलर झिकेको देख्थेँ ।

लामो भ्रमण क्रममा प्रधानमन्त्री देउवासँग पटक–पटक कुराकानी गर्ने अवसर मिल्यो । हामी दुईजनै घरव्यवहार, सिनेमा वा कथा–कविताको समीक्षामा समय बिताउने खालका थिएनौं । हाम्रो अनौपचारिक कुरा पनि आतंककारी गतिविधि, द्वन्द्व, सुरक्षा कारबाही आदिमै केन्द्रित हुन्थ्यो । मुलुकको कार्यकारी प्रमुख त्यो पनि जननिर्वाचितसँग आफ्नो कुरा राख्न पाउनु मेरा लागि मौका थियो ।

मैले सेनाबारे जानेबुझेसम्म प्रधानमन्त्रीलाई प्रस्ट पार्न पाएँ । देउवा सेना, राजसंस्था र प्रजातान्त्रिक पद्धतिका समर्थक हुनुहुन्थ्यो ।

अमेरिका भ्रमणबाट फर्केपछि एक दिन बालुवाटारबाट निम्तो आयो । आरजु म्याडम आफैंले निम्तो दिनुभयो । बेलुका ७ बजेतिर म पुगें । को को निम्तालु छन् मलाई थाहा थिएन । अरू भिआइपीसँग मिसिन पाउने भएँ भनेर खुसी नै थिएँ ।

म पुग्दा प्रधानमन्त्री सिंहदरबारबाट आइसक्नुभएको थिएन । मलाई बैठक कोठामा लगिएन । सरासर माथिको प्राइभेट रूममा लगियो ।

एकैछिनमा प्रधानमन्त्री आइपुग्नुभयो । म एउटा सिपाही, बल्लतल्ल विशिष्ट श्रेणीमा उक्लेको अधिकृत । निम्तालु त म मात्र रहेछु । प्रधानमन्त्री, आरजु म्याडम र म ।

सिभाज रिगलको बोतल फोरियो । अनेक टिटबिट्स र ह्विस्कीको चुस्कीमा गफ गर्दागर्दै चार घन्टा बितेको पत्तै भएन । उहाँको गफिने मुड भने सकिएको थिएन ।

आरजु म्याडमलाई ‘यो जर्नेल पनि जड्याहा नै रहेछ’ भन्ने पर्‍यो होला !

यो पनि पढ्नुहोस्

गिरिजाप्रसादलाई राष्ट्रपतिको ललिपप

(पुर्व सेनापति रुक्मागद कटवालकोप्रकाशोन्मुख पुस्तक आत्मबृत्तान्तबाट) 


  •  
  •  
  •