एक सय बढीमा रुघा, खोकी र अत्याधिक ज्वरोको समस्या

72
  •  
  •  
  •  

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकस्थित जुगल गाउँपालिका– ३ गुम्बा गाउँमा एक सय जनाभन्दा बढीमा कोरोना भाइरसको लक्षणसँग मिल्ने स्वास्थ्य समस्या देखिएको छ ।

गाउँका १ सय सात जनामा कोरोना भाइरसको लक्षणसँग मिल्ने रुघा, खोकी र अत्याधिक ज्वरोको समस्या देखिएको गाउँपालिकाले जनाएको छ ।

एकैपटक धेरै मानिस बिरामी परेपछि जलविरे प्राथमिक स्वास्थ केन्द्रबाट दुई जना चिकित्सकको टोली गाउँमा पुगेको छ । बिरामीको चीन यात्रा, त्यहाँको कुनै वस्तुसँग नजिक रहे नहेको समेत चिकित्सक टोलीले अध्ययन गर्नेछ ।
सामान्य औषधिसहित पुगेका स्वास्थ्यकर्मीहरुले औषधि चलाएपछि सामान्य सुधार देखिएको गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले बताएका छन् ।

कोरोना भाइरससँग मिल्ने लक्षण देखिएको भन्दै गाउँपालिकाले सहयोगका लागि बाग्मती प्रदेश स्वास्थ्य मन्त्रालयमा पत्राचार गरेको छ ।

स्वास्थ्य मन्त्रालयले गाउँपालिकाबाट आएको पत्रका विषयमा आज छलफल हुने जानकारी दिएको छ । यता मन्त्रालयले भने रुघा खोकी, अत्याधिक ज्वरो कोरोना भाइरसजस्तै अन्य इन्फ्लुएन्जाको केही लक्षणमा समानता हुने भएकाले त्रसित नहुन आग्रह गरेको छ ।

 


  •  
  •  
  •