रुद्राक्षमा आँखा लाए १० हजार

439
  •  
  •  
  •  

काठमाडौं १२ भदौ ।
स्याबुन-९ का उत्तम दाहालको २५ लाख रुपैयाँमा बिक्ने अनुमान गरेको रुद्राक्ष दुई साताअघि बोटबाटै गायब भयो। उनले कमल सार्कीसँग २५ हजारमा एक महिनाअघि रुद्राक्षको बोटै किनेका थिए।

२१ देखि २३ मुखे छ भन्ठानेको दाना बोटबाटै हराएपछि उनले रेखदेख गर्न राखेका युकेश पोख्रेल, रुद्रबहादुर विक, धनबहादुर विक र यामबहादुर सार्कीलाई पक्राउ गराए।

बोटबाटै रुद्राक्ष हराउने घटना बढेपछि धुपु गाविस-५ वालाङ्गाका बासिन्दाले भने चोर्ने मात्र होइन, बोटको फेदमा पुग्नेसम्मलाई जरिवाना तोकेका छन्। पूर्वमा पाङसु खोला, पश्चिममा थोत्ने खोला, उत्तरमा पातल र दक्षिणमा दुई खोला दोभानको चार किल्लामा पार्ने वालाङ्गामा अब सितिमिति कसैले शंकास्पद क्रियाकलाप गर्न पाउने छैन।

टोलवासीबाट अध्यक्ष बनाइएका हरिप्रसाद भण्डारीका अनुसार रुद्राक्षको रूख वरिपरि गलत नियतले हेर्नेले १० हजार रुपैयाँ जरिवाना तिर्नुपर्नेछ। त्यस्तै रूखमा चढेको भेटिए ३० हजार, गुलेली लिएर रूख वरिपरि हेरेको भेटिए २० हजार, फेदमा झरेको दाना टिप्नेलाई १५ हजार र रोपेको वा नर्सरी गरेको बिरुवा लगेको पाइए प्रतिबिरुवा १० हजार रुपैयाँ तोकिएको छ।

‘यो नियम रुद्राक्षको बोटमा दाना फल्न थालेदेखि पाकेर टिप्ने बेलासम्म लागू हुनेछ,’ भण्डारीले भने।

संखुवासभामा वार्षर्िक अर्ब रुपैयाँभन्दा बढीको रुद्राक्ष किनबेच हुने गरेको व्यवसायी दाहालले बताए। दुई वर्षयता ४, ५ र ६ मुखेको माग बढेपछि उनले यसरी नै गाउँघरमा गएर बोटै ठेक्कामा लिने गरेका हुन्। ‘यहाँको रुद्राक्षको भारत र चीनमा माग बढेको छ,’ उनले भने, ‘व्यापारीले ठूलो लगानी गर्न थालेका छन्।’

रुद्राक्षको व्यापार गर्दै आएका स्याबुनका विपिन राई र काजी तामाङले एक करोड ५० लाख रुपैयाँ लगानी गरिसकेको जानकारी दिए। ‘रुद्राक्षको फूल लाग्दादेखि नै कति मूल्यवान् दाना फल्छ भन्ने व्यापारीहरूले चिन्ने गर्छन्,’ राईले भने, ‘त्यसैका आधारमा बोटलाई २५ हजारदेखि १ लाखसम्म तिर्छौं।’

भोजपुर र संखुवासभामा असोजभित्र बहुमूल्य दाना टिपिसक्ने चलन छ। पछिल्लो समय रुद्राक्ष खेतीमा आकर्षित धुपु गाविसका बासिन्दाले बर्सेनि १० लाख रुपैयाँ घरघरै भित्र्याउँछन्। भोजपुरको दिङला क्षेत्र र संखुवासभामा फल्ने रुद्राक्षको एउटै दाना ५० लाख रुपैयाँसम्ममा बिक्री हुने गरेको छ।
कान्तिपुर


  •  
  •  
  •