राष्ट्रिय रणनीति तय गर्न संसदले पहल गर्नुपर्छ : डा. भट्टराई

305
  •  
  •  
  •  

काठमाडौं, २२ फागुन(ओएनएस) : नयाँ शक्ति पार्टीका संयोजक डा.बाबुराम भट्टराईले राजनीतिक प्रणालीमा सुधार गरी प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गर्न तथा सदाचारको नीतिलाई प्रवद्र्धन गर्न सुझाव दिएका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकको विशेष समयमा बोल्दै भट्टराईले राष्ट्रिय विकासका लागि राष्ट्रिय रणनीति तय गर्न संसद्ले पहल गर्नुपर्ने बताए ।

भट्टराईले संसद्लाई कर्मकाण्डीक रुपमा होइन् वास्तविक बहस गर्ने थलोको रुपमा विकास गर्न आह्वान गरे ।उनले कृषि उत्पादन बढाउन तथा कृषकलाई उत्प्रेरित गर्न छुट र राहतका कार्यक्रम ल्याउन आवश्यक रहेको समेत बताए । स्थानीय तह र प्रदेशमा कर्मचारीको अभाव एवं प्रदेश नामकरणमा सर्वसाधारणको असन्तुष्टि रहेको उनले बताए ।
आफ्नो केही समयअघिको अमेरिका, युरोप र नेपालको मध्यपहाडी क्षेत्रको भ्रमणबारेमा सदनलाई जानकारी दिँदै उनले मध्यपहाडी लोकमार्गको निर्माणलाई तीव्रता दिन सुझाव दिए ।

उनले भने, ’मुलुकमा विभिन्न स्थानमा खानेपानी र सिँचाइको समस्या देखिएको छ, त्यसलाई सम्बोधन गर्न जलउपयोग नीति बनाउनुपर्छ, शिक्षकको दरबन्दीलाई पनि व्यवस्थित तुल्याउन निकै आवश्यक देखिएको छ, शिक्षा क्षेत्रलाई व्यवस्थित तुल्याउन शल्यक्रिया गर्नुपर्छ ।’

पूर्वप्रधानमन्त्री भट्टराईले मुलुकमा नमूना बनाउने भनेर घोषणा गरेका स्थानमा आवश्यक पूर्वाधार निर्माणको काम भएको नदेखिएको बताए ।
मुलुकका कतिपय स्थानमा रहेको पुरातात्विक वस्तुको संरक्षण र पुनःनिर्माणको काम हुन आवश्यक रहेको बताउँदै उनले प्राकृतिक प्रकोपको दोहनलाई रोक्न राज्यले आवश्यक ध्यान दिनुपर्ने बताए ।


  •  
  •  
  •