राप्रपा नेपाल विभाजनको संघारमा

312
  •  
  •  
  •  

मदन कोइराला
काठमाडौं, २९ भदौ (ओएनएस) : संविधानसभाको निर्वाचनमा समानुपातितर्फ २४ सिट ल्याएर संविधानसभाको चौठो ठुलो दल बनेको राप्रपा नेपाल विभाजनको बाटोमा पुगेको छ । अध्यक्ष कमल थापाले मनोमानी गरेको भन्दै असन्तुष्ट बनेका सहअध्यक्ष पद्मसुन्दर लावती र नेता श्याम तिमिल्सिनालगायतका नेताहरुले यही असोज ३ र ४ गते राजधानीमा भेला आयोजना गर्दै अध्यक्ष कमल थापालाई कारवाहीको तयारीगरेपछि राप्रपा नेपाल विभाजनको संघारमा पुगको हो ।

संविधानसभा निर्वाचनपछि आफ्नो भागमा परेका २४ सभासद चयनमा अध्यक्ष थापाले मनोमानी गरेको, पैसावालाई सभासद विक्री गरेको, पार्टीका मानिसलाई सभासद नबनाइएको र बनाएपनि पैसा दिएको जस्ता अभियोग थापा माथि लगाइएको छ । ‘गाईलाई नेपाली जनताले दिएको मत नै विक्री भयो, असन्तुष्ट नेता श्याम तिमिल्शिनाले ओएनएससँग भने,‘अहिले हामीलाई राप्रपा नेपालको नाम दिनपनि लाज लागिरहेको छ ।’

अध्यक्षको कार्यशैलीबाट आम कार्यकर्ता निरास भएको तर्क गर्दै असन्तुष्ट पक्षले राजधानीमा बोलाइएको भेलाबाट कमल थापालाई एक महिनासम्म सच्चिने मौका दिने र त्यस अबधिमा पनि कार्यशैली परिवर्तन नगरे पदबाट हटाउने चेतावनी दिएको छ । संस्थापन पक्षले भने पार्टी हितविपरित काम गरेको समानान्तर कमिटीको अभ्यास गरेकोलगायतका अभियोग लगाएर एक दुईदिनभित्रै पुर्वसहअध्यक्ष पद्मसुन्दर लावतीलगायगतलाई कारवाही गर्ने तयारी गरेको छ । ‘क्षणिक राजनीतिक स्वार्थकोलागि पार्टी विचार, सिद्धान्तलाई धोका दिने गद्धार हुन, राप्रपा नेपालका सहप्रवक्ता मोहन श्रेष्ठले ओएनएससँग भने,‘पार्टीविरुद्ध कामगर्नेमाथि एक दुईदिनभित्रै कारवाही हुन्छ ।’ उनले पार्टी अनुशान विभागले कारवाहीको तयारी गरिहेको बताए । राप्रपा नेपाल अहिलेको अवस्थासम्म आइपुग्न अध्यक्ष कमल थापाको कुशल नेतृत्वले काम गरेको उनको भनाई छ ।

सहप्रवक्ता श्रेष्ठले अहिलेसम्म विपक्षलेसमेत आर्थिक रुपमा आरोप लगाउन नसकेको तर्क गर्दै अध्यक्ष थापा आर्थिक रुपमा निकै पारदर्शी रहेको दाबी गरे । असन्तुष्ट पक्षले भने अध्यक्ष थापालाई अयोग्य, जनतालाई धोका दिएको, पार्टी संगठनलाई भताभुंग बनाएको, पार्टीका मानिसलाई बेचविखन गरेकोलगायतका कारणबाट कमल थापा पार्टीका अध्यक्ष होइनन भनेर निर्णय गर्ने तयारी गरेको छ ।

असन्तुष्ट पक्षले यही ३ र ४ गते राजधानीमा आयोजना गर्ने भेलामा एउटा जिल्लाबाट कम्तिमा पनि पाँच जना र बढीमा जतिपनि मानिस आउन भनेको छ । ‘अहिलेसम्मको स्थिति हेर्दा उक्त भेला ऐतिहासिक हुनेछ, भोलाको संयोजन गरिहेको नेता श्याम तिमिल्सिनाले भने,’‘ देशका ७५ वटै जिल्लाबाट कार्यकर्ताहरु कमल थापा विरुद्ध आवाज उठाउन राजधानी भेलामा उपस्थिति हुदैछन् ।’

प्रत्यक्षमा निर्वाचन उठ्दा पराजित हुने भन्दै आफैंले अध्यक्षलाई प्रत्यक्षमा निर्वाचनमा भाग नलिन सुझाव दिएको उल्लेख गर्दै नेता तिमिल्सिनाले अहिले आएर थापाले धोका दिएको गुनासो गरे । ‘उहाँलाई अरु केही कुराको मतलव छैन, उनले भने,‘ कमल थापालाई पैसा भए पुग्ने रहेछ ।’ राप्रपा नेपालको घोषणापत्रमा उल्लेख गरिएका विषयमा सम्झौत ागर्न तयार रहेको अभिव्यक्ति दिएर थापाले जनतालाई धोका दिएको असन्तुष्ट पक्षको आरोप छ ।

१ सय ५९ केन्द्रीय सदस्यमध्ये सयभन्दा बढी केन्द्रीय सदस्य आफ्नो पक्षमा रहेको दाबी गर्दै असन्तुष्टपक्षले पार्टी विभाजन गर्ने भनई पार्टीको नेतृत्व परिवर्तन गर्ने दाबी गरेको छ । संस्थापन पक्ष आफू रहेको तर्क गर्दै असन्तुष्ट पक्षले संविधानसभा अदालतले आफूहरुमाथि न्याय गर्ने विश्वास लिएको बताएको छ । संस्थापन पक्षले अधिकांश केन्द्रीय सदस्य आफ्नो पक्षमा रहेको दाबी गर्दै एक दुईजना मानिस पार्टीबाट जाँदैमा केही फरक नपर्ने बताएको छ ।

असन्तुष्ट पक्षले २४ सभासद चयन पार्टीको नीति विपरित भएको उल्लेख गर्दै त्यो बदर गर्न माग गर्दै संविधानसभा अदालतमा उजुरी दर्ता गराएको छ । अदालतले यही असोज १ गते सो उजुरीमाथि सुनुवाई गर्दैछ ।


  •  
  •  
  •