काठमाडौं, २६ भदौ (ओएनएस) : राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकलाई माघ ८ गतेभित्रै संविधान दिनका लागि विधि र प्रक्रियामा जानुको विकल्प नभएको प्रष्ट पारेका छन् ।
रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष थापाले सहमतिको नाममा अब समय थपिँरहँदा संविधान निर्माणको कार्यतालिका नै प्रभावित हुने भएकाले विवादित विषयहरुलाई विधि र प्रक्रियाबाटै गएर भए पनि टुंगो लगाएर मुलुकलाई माघ ८ गतेभित्रै संविधान दिनुपर्ने बताए । उनले संविधान निर्माण्मा जति पनि विवादित विषय छन् त्यसमा सहमति खोज्दा माघ ८ गते नयाँ संविधान नआउने भएकाले अव दलहरुले बन्द कोठामा गर्ने सहमतिका लागि गर्ने बैठकहरु बन्द गरेर संविधानसभाबाटै संविधान जारी गर्न विधि र प्रक्रिया अवलम्बन गर्न जोड दिए ।
साक्षात्कारमा थापाले सहमतीको नाममा गर्ने भनिएको राष्ट्रिय राजनीतिक सम्मेलन निरर्थक अभ्यास हुने बताएका छन् । उनले भने, ‘मोहन बैद्यले नेतृत्व गरेको मोर्चाले भनेजस्तो सम्मेलन गर्दै जाने हो भने कहिल्यै पनि सहमति हुँदैन । यो समय खर्चने र संविधान बन्न नदिने षडयन्त्र मात्र हो । त्यसमा काँग्रेस–एमाले नराम्रोसँग फसेका छन् । राष्ट्रिय राजनीतिक सम्मेलन केवल प्रवचन गोष्ठी मात्रै हुनछे, यस बाट समस्या समाधान हुँदैन ।’
थापाले चार दलले बालुवाटारमा बैठक बसेर सिण्डिकेट लादी प्रवचनका रुपमा राष्ट्रिय सम्मेलन गराएर कार्यतालिका परिवर्तन गर्ने षड्यन्त्र गर्न लागेको आरोप लगाएका छन् । थापाले सहमतिको नाममा समय थपिरहनुको कुनै औचित्य नभएको पनि प्रष्ट पारेका छन् । उनले भने, ‘राप्रपा नेपाल आफै अब सहमतिको नाममा समय थप्न तयार छैन् ।’