काठमाडौं ४ मंसिर (ओएनएस) : राप्रपा नेपालले तत्काल संबिधानसभाको बैठक बोलाउन माग गर्दै संबिधानसभाका अध्यक्ष सुवास नेम्बाङलाई ज्ञापनपत्र बुझाएको छ । रापप्रा नेपालका अध्यक्ष कमल थापाले बिहिबार नेम्बाङलाई भेटी ज्ञापनपत्र बुझाएका हुन् ।
यसअघि रापप्रा नेपालको बुधबार बसेको केन्द्रीय समिति तथा संसदीय दलको संयुक्त बैठकले तत्काल संबिधानसभाको बैठक बोलाउन माग गर्ने निर्णय गरेको थियो । ज्ञापनपत्र बुझाएपछि थापाले संबैधानिक, राजनीतिक संवाद तथा समितिले विवादित बिषयमा निकास निकाल्न नसक्ने भएकोले संबिधानसभाको बैठकबाट समाधान खोज्नु पर्ने बताए ।
कात्तिक १६ गतेदेखि जारी संवाद तथा सहमति समितिको बैठकले निकास निकाल्न नसक्ने पनि थापाले बताए ।
‘संबिधान लेखनमा रहेको अहिलेको गतिरोध हटाउन तत्काल संबिधानसभाको बैठक राख्नुपर्छ । ’ थापाले भने ।