काठमाडौं, २६ माघ (ओएनएस) : चौथो ठुलो दल राप्रपा नेपालले प्रश्नवाली समितिले आफ्ना मागलाई उपेक्षा गरेको भन्दै संविधानसभाको बैठक बहिष्कार गर्ने चेतावनी दिएको छ ।
सोमबार केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै राप्रपा नेपालले अन्तरिम संविधान तथा संविधानसभा नियमावली विपरित प्रश्नावली बनेकोले अगामी बिहिबार बोलाइएको संविधानसभाको बैठकअघि माग सम्बोधन नभए बैठक बहिष्कार गर्ने चेतावनी दिएको हो ।
संसदीय दलको कार्ययलमा बसेको बैठकले धर्म निरपेक्षता, गणतन्त्र र संघियताको विषयमा प्रश्न बनाउन नपाउने गरि गरिएको निर्णय तत्काल सच्चउन पुन आग्रह गरेको छ ।
यसअघि राप्रपा नेपालले आफ्ना मुद्दामा प्रश्नावली नबनाएको भन्दै समितिको बैठक बहिष्कार गरिसकेको थियो ।
यस्तै, सत्तापक्षले जबरजस्ती रुपमा प्रक्रिया अघि बढाएको भन्दै एमाओवादी नेतृत्वको विपक्षी मोर्चाले समितिको बैठक बहिष्कार गरेका छन् । उनीहरुले संविधानसभाको बैठकमा पनि भाग नलिने निर्णय गरिसकेका छन् ।
यस्तो छ राप्रपा नेपालको विज्ञप्ति :-
मिति : २०७१ माघ २६ गते
प्रेस विज्ञप्ति
राप्रपा नेपालको केन्द्रीय कार्य सम्पादन समितिको वैठक आज राप्रपा नेपालको संसदीय दलको कार्यालयमा पार्टी अध्यक्ष मा. श्री कमल थापाको अध्यक्षतामा बस्यो । बैठकले प्रश्नावली निर्माण समितिले धर्म निरपेक्षता गणतन्त्र र संघियताको विषयमा प्रश्न बनाउने नपाउने गरी गरिएको निर्णय तत्काल सच्चाउन पुनः आग्रह गरेको छ । उक्त निर्णय संविधान, नियमावली र संविधान सभाको वैठकको कार्यदेश विपरित रहेको छ ।
प्रश्नावली समिति नेपालको अन्तरिम संविधान–संविधानसभा नियमावली र नेपाली जनताको अभिमत द्वारा स्थापित मुलुकको चौथो ठूलो राजनीतिक शक्तिको उपरोक्त एजेण्डालाई उपेक्षा गर्दै अगाडी बढ्ने हो भने आगामी दिनहरु मा राप्रपा नेपाल यो प्रक्रियाको विरुद्धमा संविधान सभा वैठक वहिष्कार गर्न सक्ने सम्म अवस्थामा पुग्न बाध्य हुनुपर्ने भएकोले माघ २९ गते बस्ने संविधान सभाको वैठकपूर्वनै सम्बोधन गरिनु पर्ने वैठकले माग गरेको छ ।
………………………………
वरिष्ठ अधिवक्ता विष्णु भट्टराई
प्रवक्ता