कमल थापाले भने : हामीलाई हार्न देउ

260
  •  
  •  
  •  

काठमाडौं, १९ माघ (ओएनएस)  : राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रश्नावली समितिमा गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको विषयमा प्रश्न तयार गर्दा आफु हार्ने निश्चित भएको बताउँदै यी विषयमा प्रश्नहरु बनाउनु पर्ने बताएका छन् ।

सोमबार राप्रपा नेपालको संसदीय दलको निर्णय सार्वजनिक गर्दै अध्यक्ष थापाले भने, ‘संविधानसभामा हाम्रो बहुमत छैन, हाम्रा मुद्दाले संविधानसभामा हार खान्छ, त्यसैले सत्तापक्षले हाम्रा मुद्दाहरुलाई संविधानसभामा हार्ने मौका समेत दिएनन् । ’ उनले लोकतन्त्रको पक्षधर मान्नेहरुले नै प्रश्नहरु नबनाउने निर्णय गरेर लोकतान्त्रिक मुल्य मान्यताको खिल्ली उडाएको दाबी गरे ।

यस्तै राप्रपा नेपालले तीन विषयमा प्रश्नावली नबनाए संविधानसभाबाट बाहिरिने समेत चेतावनी दिएको छ । यसअघि विपक्षी एनेकपा माओवादीले प्रक्रियामा गएको भन्दै संविधानसभा बहिष्कार गर्ने चेतावनी दिएको थियो ।

अध्यक्ष थापाले संविधानसभामा मुख्य विवादको रुपमा रहेको संघीयता, धर्मनिरपेक्षता र गणतन्त्रमा नै प्रश्न नबनाउने हो भने संविधानसभाबाट बहिरिने चेतावनी दिएका हुन् । उनले आइतबार प्रश्नावली निर्माण समितिले संघीता, धर्मनिरपेक्षता र गणतन्त्रमा प्रश्नहरु नबनाउने निर्णय नसच्चिए प्रक्रियाबाट बाहिरिने सक्ने बताए ।

थापाले अन्तरिम संविधान तथा संविधानसभा नियमावलीमा तीन विषयमा प्रश्न बनाउने विषयमा उल्लेख नभएको बताउँदै प्रश्नावली समितिले यी विषयमा प्रश्न बनाउन अटेर गर्न नहुने थापाको दाबी थियो ।


  •  
  •  
  •