तेस्रो जनआन्दोलन सुरु भएको राप्रपा नेपालको घोषणा

129
  •  
  •  
  •  

काठमाडौं,  १८ पुस (ओएनएस) : राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपालमा तेस्रो जनआन्दोलन सुरु भएको बताएका छन् ।

हिन्दु राज्य स्थापनार्थ मेची–महाकाली रथयात्राको समापन गर्ने क्रममा थापाले काठमाडौंको खुल्लामञ्चमा आयोजित सभामा हिन्दु राज्यको पक्षमा देशभर जनलहर उर्लिएको भन्दै तेस्रो जनआन्दोलन सुरु भएको दाबी गरेका हुन् ।

अध्यक्ष थापाले भने ‘ आन्दोलन भनेको जंगलमा पसेर जनाता मारेर हुने होइन, अथवा सडकमा टायर बालेर हुने पनि होइन । जनयुद्धको बन्दुक र सडकको टायर भन्दा कयौ गुणा शक्ति रथ यात्रामा देखिएको छ । ’ उनले अब कुनै पनि शक्तिले नेपाललाई हिन्दु राष्ट्रबाट रोक्न नसक्ने पनि दाबी गरे ।

यसअघि भएका जनआन्दोलन र जनयुद्धले सरकार परिवर्तन गराएको भन्दै आफुहरुको आन्दोलनले नेपाली जनताको मन परिवर्तन गराएको दाबी गरे । उनले नेताहरुले स्वार्थको भरमा धर्म निरपेक्ष घोषणा गरेको भन्दै नेपाली राष्ट्रियता र साझा संस्कृती बनेकोको हिन्दु राज्यको स्थापना अनिवार्य भएको बताए ।

एकताको आधार सनातन हिन्दु धर्म भएको भन्दै हिन्दु धर्मले टोपी र धोति लगाउनेलाई जोड्ने काम गरेको दाबी गरे । उनले राष्ट्रिय पहिचान कायम गर्नको लागि धर्म निरपेक्षता खारेज गर्दै हिन्दु राज्य कायम हुर्नुपर्ने माग गरे । उनले दलहरुले लोकतन्त्रको आश्वासन दिए पनि त्यो पुरा हुन नसकेको दाबी गरे । देशमा रोग, भोक र अशिक्षामा रहेको भन्दै ठुला दलको आलोचना गरे ।

राप्रपा नेपालले खुलामञ्चमा भएको सभाअघि तीन घन्टा शक्ति प्रदर्शन गरेको थियो ।  हिन्दु राज्य स्थापनार्थ मेची–महाकाली रथयात्रा थालेको राप्रपाले खुल्लामञ्चमा सभा गरी रथयात्रा समापन गरेको छ । मेची–महाकाली अभियानमा रहेको रथ बिहिबार काठमाडौं भित्रिएको थियो ।

पैदल रथयात्राका लागि त्रिपुरेश्वरमा पाँच हजार महिला कलशयात्री तयार पारिएको थियो । त्रिपुरेश्वरबाट पहिले कलश बोकेका महिला, त्यसपछि मेची–काली अभियानमा रहेको रथ र अन्तिममा पैदलसहितको टोली खुलामञ्च पुगेका थिए । हिन्दु राज्य स्थापनार्थ दबाब दिन भन्दै राप्रपा नेपालले पुस ९ गतेदेखि झापाबाट रथयात्रा थालेको थियो ।


  •  
  •  
  •