राप्रपा विवाद टुंगियो

166
  •  
  •  
  •  

काठमाडौं ३ मंसिर ।
राष्ट्रिय प्रजातन्त्र पार्टीमा गत १६ महिनादेखि चल्दै आएको नेतृत्वसम्बन्धी विवाद तत्कालका लागि मिलेको छ । आफूलाई अध्यक्षको दाबी गरिरहेका लोकेन्द्रबहादुर चन्द तथा पशुपतिशमशेर राणाबीच पुन: चक्रीय प्रणालीअनुसार पार्टीको नेतृत्व चयन गर्ने सहमति भएपछि विवाद मिलेको हो । सहमतिअनुसार चन्द, राणा र डा. प्रकाशचन्द्र लोहनीले एक–एक वर्ष अध्यक्षका रूपमा पार्टीको नेतृत्व गर्नेछन् । यसअघि चन्द र राणाले आफूलाई अध्यक्ष दाबी गर्दै समानान्तर कार्यसमिति चलाएपछि विवाद निर्वाचन आयोगसम्म पुगेको थियो ।

चन्द र राणाले बिहीबार संयुक्त पत्रकार सम्मेलन गरेर नयाँ सहमतिबारे पार्टीको नेतृत्वका विषय भएको नयाँ सहमति जानकारी गराउने भएका छन् । प्रवक्ता ठाकुर शर्माले पार्टीभित्र देखिएको १६ महिनादेखिको विवाद टुंगिएको बताए । ‘पार्टीभित्र १६ महिनादेखि देखिएको विवाद मिलेको छ,’ राणानिकट शर्माले नयाँ पत्रिकासँग भने, ‘बिहीबार बिहान ११ बजे संयुक्त पत्रकार सम्मेलन गरी दुवै नेता (राणा र चन्द)ले सहमतिबारे जानकारी गराउनुहुनेछ ।’

केन्द्रीय सदस्य राजेश गिरीले सहमतिअनुसार तत्काल पार्टीको अध्यक्ष चन्दले गर्ने जानकारी दिए । उनको कार्यकाल एक वर्षको हुनेछ । त्यसपछि राणा र राणापछि लोहनीले पार्टीको नेतृत्व गर्नेछन् । लोहनीको पालामा पार्टीको महाधिवेशन गर्ने सहमति पनि नेताहरूबीच भएको स्रोतले बतायो । बिहीबार पत्रकार सम्मेलन गरेर सहमतिबारे जानकारी गराएपछि तत्काल केन्द्रीय कार्यसमिति बैठक बोलाएर राणाले चन्दलाई अध्यक्षको प्रस्ताव गर्ने र कार्यसमितिले अनुमोदन गर्ने तयारी भएको बुझिएको छ ।

केपी शर्मा ओलीलाई प्रधानमन्त्री निर्वाचनमा समर्थन गरेर मतदान गरेको राप्रपाले पार्टीको विवाद मिलाउन नसक्दा आफ्नोतर्फबाट सरकारमा मन्त्री पठाउन सकेको छैन । दुवै पक्षले आफूलाई आधिकारिक अध्यक्ष दाबी गर्दै मन्त्रीका लागि सिफारिस गर्न थालेपछि प्रधानमन्त्री ओलीले विवाद मिलाएर आउन सुझाब दिएका थिए । त्यसपछि दुवै पक्षबीच पटकपटक वार्ता भएको हो । सरकारमा मन्त्री पठाउने विषयमा पनि दुवै पक्षबीच सहमति भएको छ ।

दुवै पक्षले आ–आफ्नातर्फबाट एक–एकजना मन्त्री सरकारमा पठाउनेछन् । स्रोतका अनुसार चन्द पक्षबाट लोकेन्द्रका छोरा जयन्त र राणाका तर्फबाट संसदीय दलका नेता रहेका पार्टी महामन्त्री दीपक बोहरालाई मन्त्रीमा सिफारिस गर्ने सहमति जुटिसकेको छ । सूर्यबहादुर थापापछि चन्दले अध्यक्ष पाउने पूर्वसहमति भए पनि थापा पक्षले राणालाई अध्यक्ष बनाएपछि १६ महिनादेखि नेतृत्वको विवाद चलिरहेको थियो । थापा पार्टी अध्यक्षमा बहाल रहेकै वेला १९ जेठ ०७१ मा चन्दले एक वर्षअघि भएको सहमतिअनुसार आफू अध्यक्ष भएको घोषणा गरेका थिए। सोही महिनाको २५ गते राप्रपा अध्यक्ष थापाले पदबाट राजीनामा दिएका थिए भने केन्द्रीय कार्यसमितिको बहुमतले राणालाई अध्यक्ष चयन गरेको थियो ।
नयाँपत्रिकाबाट


  •  
  •  
  •