राप्रपामा विवाद चर्कियो, राणा विरुद्ध थापाको मोर्चा

151
  •  
  •  
  •  

काठमाडौं १४ साउन (ओएनएस) :
सदीय दलको निर्वाचनपछि राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र नयाँ समीकरण बन्न लागेको छ। पार्टीका निर्वतमान अध्यक्ष सूर्यबहादुर थापालाई संसदीय दलको नेता बनाउने आन्तरिक सहमति तोडेर अध्यक्ष पशुपतिशमशेर राणाले महामन्त्री दीपक बोहरालाई बनाएपछि थापा पक्ष राणासँग असन्तुष्ट बनेको छ। थापाले जोखिम मोल्दै राणालाई अध्यक्ष बनाएको तर राणाले धोका दिएको आरोप थापा पक्षले लगाएको छ। स्रोतका अनुसार दलको निर्वाचनपछि थापा पक्षले अध्यक्षमण्डलका सदस्य डा. प्रकाशचन्द्र लोहनीलाई साथमा लिएर राणाविरुद्ध मोर्चाबन्दीको प्रयास थालेको छ।

थापा पक्षका केही केन्द्रीय सदस्यले सोमबार नेता लोकेन्द्रबहादुर चन्द र मंगलबार लोहनीसँग भेट गरी नयाँ सहमतिबारे छलफल गरेका छन्। पार्टीमा विवाद चर्कंदै गएपछि थापा पक्षका केन्द्रीय सदस्यले एकताका लागि विभिन्न सुझाव दिएका छन्। उनीहरूले हस्ताक्षर अभियानको समेत तयारी गरेका छन्।

उच्चस्तरीय कार्यसम्पादन समितिका सदस्य परशुराम खापुङले पार्टीलाई एकताबद्ध बनाउने विषयमा विभिन्‍न चरणमा छलफल भइरहेको बताए।

उनले विधि र पद्धतिअनुसार पार्टी सञ्चालन गरे एकता कायम हुने बताए। थापा निकट केन्द्रीय सदस्यसमेत पार्टी एकताका लागि अध्यक्ष राणालाई दबाब दिन थालेका छन्। उनीहरूले एकताका लागि विभिन्‍न प्रस्ताव अघि सारेका छन्। प्रस्तावअनुसार पार्टी अध्यक्ष राणाको नेतृत्व स्वीकार गरे चन्द पक्षलाई सबै निकायमा ३५ प्रतिशत प्रतिनिधित्व दिइने, त्यो नभए एक वर्षभित्रमा राणाले राजीनामा दिएर चक्रीय प्रणालीअनुसार नेतृत्व हस्तान्तरण गर्नुपर्ने, यसमा सहमति नभए आगामी मंसिरमा राणाले अध्यक्षबाट राजीनामा दिएर विशेष महाधिवेशन आयोजना गर्नुपर्ने, पार्टी कार्यकारी पदका लागि ७० वर्षको म्याद तोक्नुपर्ने विषयमा राणालाई सल्लाह दिएका छन्। तर राणाले ती प्रस्ताव अस्वीकार गरेको स्रोतले बतायो।

अध्यक्षमण्डलका सदस्य लोहनीले पार्टीलाई एकताबद्ध बनाएर लैजाने विषयमा छलफल भइरहेको बताए। उनले विगतको सहमतिबाहेकका प्रस्ताव आफूहरूलाई मान्य नहुने बताए। ‘पार्टी विधानको धारा ३६ अनुसार अध्यक्षमण्डलले नयाँ अध्यक्षका लागि प्रस्ताव गर्नुपर्ने प्रावधान छ। ‘अहिले जसरी अध्यक्ष बनाइयो भनिएको छ, त्यो पार्टी विधानविपरीत छ। पार्टीको एकता महाधिवेशनमा पनि विधानको धारा ३६ अनुसार थापालाई अध्यक्ष बनाइएको हो’, लोहनीले भने, ‘नयाँ अध्यक्ष बनाउन अध्यक्षमण्डलले प्रस्तावत गर्नुपर्छ। कसलाई अध्यक्ष बनाउने वा नबनाउने भन्नेमा हामी लागेका होइनौं, पार्टीको विधान र पद्धति लागू गर्न लडेका हौं। यो अन्यायविरुद्ध हामी छिट्टै अदालत जान्छौं।’ अन्नपूर्णपोष्ट


  •  
  •  
  •