काठमाडौं, ३० भदौ (ओएनएस) : नेकपा-माओवादी नेतृत्व मोर्चाले राजनीतिक सभामा संविधानसभा भित्र रहेका मुख्य दलहरुसँग उनीहरुबीच रहेको सहमति र असहमतिका विषयमा जानकारी माग्ने र आफ्नो धारणा राख्ने तयारी गरेको छ ।
सोमबार बसेको मोर्चाको बैठकले आफूहरुको धारणा ‘एकै लाईन’मा राख्ने र मुख्य दलहरुसँग उनीहरुबीच भएको सहमति र असहमतिका जानकारी लिनेगरि तयारी गरेको हो । मोर्चामा सहभागि क्रान्तिकारी कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य प्रकाश गौतमले भने,‘हामीले धारणा राख्दा समान रुपमा राख्ने कुरो भएको छ र उनीबीच भएको सहमति असहमति जानकारी लिने भन्ने छ । ’
नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत माओवादीबीच संविधानका सहमति र असहमति भएका विषय जानकारी भए सहमतिका लागि वहस गर्न सजिलो हुने ३३ दलीय मोर्चाको बुझाई छ । गौतमले भने,‘ हामी आफ्ना कुरा त राख्छौं तर उनीहरुबीचको सहमति र असहमतिको जानकारी भयो भने थप छलफल गर्न सजिलो हुन्छ ।’
पहिलो बैठक परिचयात्मक मात्रै हुने भएकाले धारणा आदान प्रदान गर्न र एक अर्कालाई बुझ्नमै राजनीतिक सभा केन्द्रीत हुने नेकपा–माओवादी नेतृत्व मोर्चाको बुझाई छ । सभामा उठाउने एजेण्डाबारे छलफल गर्न विहान ७ बजे फेरी बैठक बस्ने गौतमले जानकारी दिए । भोली विहान साढे ८ बजेदेखि संविधानसभा भवन नयाँ बानेश्वरमा संविधानसभाभित्र रहेका दल र नेकपा–माओवादी नेतृत्व मोर्चाबीच राजनीतिक सम्मेलन गर्ने तय भएको छ ।