रोट्रयाक्ट क्लब अफ लमजुङद्वारा शैक्षिक सामग्री वितरण

95
  •  
  •  
  •  

काठमाडौं ।  रोट्रयाक्ट क्लब अफ लमजुङले राइनास नगरपालिका भित्रका तीन प्राथमिक विद्यालयका विद्यार्थीलाई स्टेशनरी सामग्री हस्तान्तरण गरेको छ ।

पोखरामा संचालित बालगृह चाइल्ड वेलफेयर एण्ड एजुकेशन तथा कास्की जिल्लामा संचालित बालगृहहरुको छाता संगठन बालगृह संजाल कास्कीसँगको सहकार्यमा क्लवले शुभोदय प्रा. वि., सुदर्शन प्रा. वि. र कृष्ण प्रा. वि का ७० जना विद्यार्थीलाई स्टेशनरी सामग्री हस्तान्तरण गरेको हो । उनीहरुलाई ट्रयाकसुट, टि–शर्ट, झोला, प्रत्येक विद्यार्थीलाई १२ वटा कपी, पेन्सिल, कलम, इरेजर र कटर गरी २ लाख ५० हजार रुपैयाँ बराबरको सामग्री हस्तान्तरण गरिएको रोट्रयाक्ट क्लब अफ लमजुङका अध्यक्ष मुलेश कुँवरले जानकारी दिए ।

राइनास नगरपालिकाका मेयर सिंह बहादुर थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संयोजन क्लवकी पास्ट प्रेसिडेन्ट तथा क्लब एड्भाइजर लक्ष्मी श्रेष्ठ र चाइल्ड वेलफेयर एण्ड एजुकेशन पोखराका दिपक गुरुङले गरेका थिए ।

क्लबका एड्भाइजर श्रेष्ठले कार्यक्रम भब्य रुपमा सफल पार्न र सहयोग गर्ने मौका जुराइदिएकोमा बाबा फाउण्डेशन पोखराका अध्यक्ष दिलिप राज श्रेष्ठ, संघसंस्था तथा अन्य सहयोगि हातहरु र रोट्रयाक्ट क्लवका भाइ बहिनी तथा साथीहरूप्रति धन्यवाद व्यक्त गरेकी छिन् ।

सिसिर गैरे र सुष्मा गुरुङले सहजिकरण गरेको कार्यक्रममा मोनिका गुरुङ, घनश्याम तिवारी र विधान बोहोराका साथै प्राविका शिक्षक, विद्यार्थीहरुको उपस्थिति रहेको थियो । रोट्रयाक्ट क्लब अफ लमजुङले यस अघि पनि विभिन्न संघसंस्थाको सहकार्यमा जिल्लामा सामाजिक क्षेत्रमा काम गर्दै आएको छ ।


  •  
  •  
  •