काठमाडौं । रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल भूटानको आइसीएम कमिटीको आयोजना र विभिन्न रोटरी क्लवको सहयोगमा काठमाडौंमा मानसिक स्वास्थ्य सम्बन्धी एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
पछिल्लो समयमा मनोरोगले भयावह अवस्था लिइरहेको भन्दै यसको न्यूनीकरणमा रोटरी लगायत राज्य र अन्य सरोकारवाला निकायले पर्याप्त मात्रामा ध्यान पुर्याउनुपर्नेमा कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् ।
मानसिक स्वास्थ्य र कल्याण नाम दिइएको उक्त अन्तरक्रिया कार्यक्रममा रोटरी इन्टरेनशल डिस्ट्रिक्ट ३२९२ नेपाल भूटानका डिस्ट्रिक्ट गभर्नर राजेन्द्र प्रसाद ध्वजुले रोटरी इन्टरनेशनलका अध्यक्षले मानसिक स्वास्थ्यलाई यो वर्ष विशेष प्राथमिकतमा राखेको बताउँदै मानसिक रुपमा स्वस्थ नागरिक बिना राष्ट्र निर्माणको परिकल्पना गर्न नसकिने बताए ।

उनले नागरिक भित्री रुपमा स्वस्थ छैन भने उसले सम्पादन गर्ने कार्य कुनै पनि मूल्यमा परिवार, समाज एवं राष्ट्रका लागि रचनात्मक एवं सिर्जनात्मक हुन नसक्ने बताए ।
रोटरी इन्टरनेशनल अध्यक्षले यो वर्ष विश्वमा आशाको सञ्चार गरौं भन्ने नारा तय गरेको र आफुले पनि यो वर्ष आशाको उज्यालोलाई आम रोटरियन, समुदाय एवं राष्ट्रमा विस्तार गर्ने लक्ष्य अनुरुप नागरिकलाई आफु स्वयं आशावादी बन्न र परिवार, समाज, सिंगो राष्ट्र र विश्व भाइचाराप्रति आशावादको संचारका लागि लागिपर्न अपिल गरेको बताए ।
उनले मानसिक रोगको पछिल्लो तथ्यांक डर लाग्दो रुपमा बढिरहेको र यसले समाजलाई घोर निराशा, चिन्ता, हिंसा, आत्महत्या, पारिवारिक, सामाजिक एवं सांस्कृतिक विघटनको दिशातर्फ डोर्याइरहेको उल्लेख गर्दै यसको न्यूनीकरणका लागि समुदायमा आशाको दीप बाल्न ढिला भइसकेकाले आम रोटरियन तथा रोटरी क्लवहरुले मानसिक स्वास्थ्य सम्बन्धी जागरणका कार्यक्रमलाई व्यापक रुपमा बस्ती बस्तीमा पुर्याउन अपिल गरे ।

कार्यक्रममा मनोरोग विशेषज्ञ डा.धुव्रमान श्रेष्ठले मानसिक रोगलाई हेर्ने सामाजिक दृष्टिकोण, मनोरोग बारेकोको चेतनाको अभाव, मनोरोगी स्वयंले उपचारका लागि देखाउने उदासिनता, उपचारका लागि पर्याप्त स्रोत तथा जनशक्तिको अभाव, मानसिक स्वास्थ्यको क्षेत्रप्रति राज्यको न्यून प्राथमिकता, आर्थिक उर्पाजनका लागि पारिवारिक रुपमा बिछोडको अवस्था, पछिल्लो समयमा बढिरहेको सामाजिक सञ्जालको लत एवं दुरपयोगका कारण मानसिक स्वास्थ्यको अवस्था दिनानुदिन विकराल बन्दै गएको बताए ।
डा.श्रेष्ठले मनोरोगीलाई हेर्ने दृष्टिकोण र गरिने व्यवहारमा सुधार ल्याउनुपर्ने बताउँदै मानसिक रोग पनि अन्य रोगजस्तै समयमै उपचार गरे निको हुन्छ भन्ने चेतनाको विस्तार एवम् अन्धविश्वासलाई चिरेर अगाडि बढ्न आवश्यक रहेको धारणा राखे ।
कार्यक्रममा डा.रचना शर्माले नागरिकमा हुने बिर्सने रोगको कारण, उमेर समूह र यसको न्यूनीकरणका लागि अपनाइनुपर्ने विधिका बारेमा बताएकी थिइन् । कार्यक्रममा रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल भूटानका पूर्व डिस्ट्रिक्ट गभर्नर, निर्वाचित गभर्नर, डिस्ट्रिक्टका अधिकारीहरु, विभिन्न रोटरी क्लवका पदाधिकारी तथा सदस्य, इनरह्विल तथा रोट्रयाक्टरहरुको उल्लेखनिय उपस्थिति रहेको थियो ।
कार्यक्रम रोटरी इन्टरनेशल डिस्ट्रिक्ट ३२९२ नेपाल भूटानका आइसिएम कमिटिका चेयर अमित गिरीको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रमको होस्ट क्लवका रुपमा नौ वटा रोटरी क्लबहरु रहेका थिए ।
रोटरी क्लव अफ बागमति काठमाडौं, रोटरी क्लव अफ राजधानी, रोटरी क्लव अफ दरबारमार्ग, रोटरी क्लव अफ काठमाडौं, रोटरी क्लब अफ कान्तिपुर, रोटरी क्लव अफ काठमाडौं मेट्रो, रोटरी क्लव अफ काठमार्डौं हाइट, रोटरी क्लब अफ स्वयम्भू र रोटरी क्लव अफ मातृभूमि बालुवाटारले उक्त आइसियम मिटिङको होस्ट गरेका थिए ।