रोटरीको १५ औं डिस्ट्रिक्ट कन्फ्रेन्स हुँदै, उपलब्धिमूलक हुने गभर्नरको विश्वास

346
  •  
  •  
  •  

काठमाडौं । रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल भूटानको १५ औँ डिस्ट्रिक्ट कन्फ्रेन्स काठमाडौंको गोकर्ण रिसोर्टमा चैत्र महिनाको ३ र ४ गते हुँदैछ । रोटरीमा प्रत्येक रोटा वर्षमा हुने महाभेलाका रुपमा यसलाई लिने गरिन्छ ।

दुई दिनसम्म चल्ने रोटरीको यो महाभेलामा बाह्रदेखि पन्ध्र सयसम्म रोटरी सदस्यहरुको उपस्थिति रहने डिस्ट्रिक्ट ३२९२ नेपाल भूटानले अपेक्षा लिएको छ ।

दुई दिनसम्म चल्ने सम्मेलनमा विश्व लगायत नेपालमा रोटरीले संचालन गरेका परियोजना र तिनको प्रभावबारे विस्तृत छलफल तथा जानकारी प्रदान हुनेछ । सम्मेलनमा देश तथा विदेशका विभिन्न क्षेत्रमा पोख्न वक्ताहरुको उपस्थिति रहनेछ जनाइएको छ ।

कार्यक्रमको प्रमुख अतिथिका रुपमा रोटरी इन्टरनेशनल डाइरेक्टर ए एस भेनकटेस रहनेछन भने मुख्य वक्ताका रुपमा नेपालका लागि अमेरिकी राजदुत रहनेछन । विगतका रोटा वर्षमा तीन दिनसम्म हुने गरेको सम्मेलन अहिले भने दुई दिनमा सम्पन्न हुन लागेको हो ।

कार्यक्रममा रोटरी, रोट्रयाक्ट र इन्ट्रयाक्टले गरेका विभिन्न सेवामूलक परियोजनाका बारेमा सघन रुपमा बहस त हुनेछ नै त्यसका अतिरिक्त नेपालमा रोटरी, रोट्रयाक्ट तथा इन्ट्रयाक्टले गरेका परियोजना, त्यसले समुदायको विकासमा देखिएको गुणात्मक परिवर्तन र आगामी मार्गचित्रबारे सम्मेलनले मार्गनिर्देश गर्नेछ ।

सम्मेलनमा रोटरीले निर्धारण गरेका प्राथमिकताका सबै क्षेत्र वातावरण, स्वास्थ्य, शिक्षा, रोटरीको सार्वजनिक छबि, शान्ति तथा द्वन्द्व व्यवस्थापन, सदस्यता मामिला, महिला सशक्तिकरण एवं महिला नेतृत्वको विकास लगायतका विभिन्न क्षेत्रमा रोटरी तथा रोटरीभन्दा बाहिरका सम्बन्धित क्षेत्रमा विज्ञता हासिल गरेका व्यक्तित्वहरुले विचारमार्फत दिशानिर्देश गर्नेछन् ।

देशभरका रोटरियनले देश तथा देशभन्दा बाहिरका रोटरी क्लवले गरेका परियोजनाका प्रकृति, प्रभाव र परिणामबारे एकै थलोबाट सम्पूर्ण जानकारी लिने अवसर प्राप्त गर्नेछन् । यसका अतिरिक्त यसपटक विभिन्न विधामा अवार्डहरु समेत डिस्ट्रिक्ट कन्फ्रेन्समै प्रदान गरिनेछ ।

तीन विधामा ५ अवार्ड यसपटक प्रदान गर्न लागिएको हो । नेपाली रु दश लाख राशीको गोपाल कमला राजभण्डारी भोकेश्नल अवार्ड यसपटक युवा उद्यमीलाई प्रदान गरिनेछ भने जेकेएस अर्थात जानकीदास अवार्ड नेपालमा स्वास्थ्यको अब्बल परियोजना गर्न सफल रोटरी क्लवलाई बेस्ट रोटरी क्लवका रुपमा प्रदान गरिनेछ जसको राशी नेपाली रु.५ लाख रहनेछ ।

त्यसैगरी शिक्षा क्षेत्रमा उत्कृष्ट परियोजना गर्न सफल एक रोट्रयाक्ट क्लवलाई पनि बेस्ट रोट्रयाक्ट क्लवका रुपमा अवार्ड प्रदान गरिनेछ जसको राशी नेपाली रु दुई लाख पचास हजार रहेको छ । त्यसैगरि तेस्रो अवार्डका रुपमा रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल भूटानकी प्रथम महिला रोटरियन डा सुनिति आर्चायद्वारा यो रोटा वर्षवाट स्थापित डा.गोपाल सुनिति प्रोफेशनल विमेन अवार्ड प्रदान गरिनेछ ।

आफ्नो योग्यता, क्षमता र सिर्जनात्मकतामार्फत समुदायको विकासमा विशिष्ट योग्दान पुरयाउने एक रोटरीमा आवद्व महिला र एक रोटरीभन्दा बाहिरकी महिलालाई सो अवार्ड प्रदान गरिनेछ जसको राशी नेपाली रु एक लाखका दरले रहेको छ ।

सम्मेलनमा रोटरीमा वर्षौ बिताएका रोटरियनदेखि भर्खर रोटरीमा आवद्व भएका नयाँ रोटरियन हुँदै रोट्रयाक्टबाट रोटरीमा आवद्व भएका रोटरियनका अनुभव एवं राष्ट्रिय जीवनका विविध क्षेत्रमा ख्याती प्राप्त गर्न सफल व्यक्तिहरुले आफ्नो संघर्ष र सफलताबारे कार्यक्रममा आफ्ना अनुभव राख्नेछन् ।

सम्मेलनमा दुई दिनसम्म सहभागी हुँदै गर्दा रोटरी सदस्यहरुमा नयाँ उर्जाको संचार हुने बिश्वास आफुले लिएको रोटरी डिस्ट्रिक्ट ३२९२ नेपाल भूटानका डिस्ट्रिक्ट गभर्नर जितेन्द्र बहादुर राजभण्डारीले बताए । गभर्नर भण्डारीले भने, ‘सम्मेलनपछि आम रोटरियनहरुले आआफ्नो क्षेत्र, भूगोल र संस्थामा गएर नयाँ शिराबाट रोटरीको यात्रालाई अगाडि बढाउनुहुनेछ ।’


  •  
  •  
  •