गलत नक्साले गुम्यो करोड

214
  •  
  •  
  •  

moneyकाठमाडौं २ पुस । गलत नक्सा बनाएर निर्माण थालिएको विराटनगरको पशु बधशालामा सरकारको करिब एक करोड रुपैयाँ डुबेको छ। महत्वकांक्षी रुपमा निर्माण थालिएको यो बधशालाको नक्साङ्कन र अन्य प्राविधिक पक्ष नै त्रुटीपूर्ण रहेको पशु सेवा विभागले जनाएको छ। गलत नक्साङ्कन र बजेट अभावले अहिले बधशालाको काम अघि बढेको छैन। पशु सेवा विभागका महानिर्देशक केशवप्रसाद प्रेमीले भने,’नक्साङ्कन नै गलत बनाइएकोले निर्माण नै त्रुटीपूर्ण भयो।

सरकारले गरेको ठूलो लगानी डुब्यो । प्रेमीका अनुसार पशु बध गर्ने स्थान गहिरो भागमा रहेको छ। यस्तै भौतिक संरचना पनि उपयुक्त रुपमा डिजाइन गरिएको छैन।

निर्माणका लागि विराटनगरका इन्जिनियरले बनाएको भवनको डिजाइन नै गलत भएको प्रेमीले दाबी गरेका छन्। बध गर्ने पशुको स्वास्थ्य जाँच गर्ने, बध गर्ने स्थल र मासु भण्डारण गर्ने निर्माणाधिन स्थानसहित सम्पूर्ण संरचनामा त्रुटी भएको सरकारी पक्षको दाबी छ। आर्थिक वर्ष २०६५/६६ मा सरकारबाट बजेट निकासा भएपछि विराटनगर उपमहानगरपालिका वडा नम्बर ११ स्थित हाटखोलामा बधशाला निर्माण सुरु गरेको थियो।

काम अघि नबढ्दा निर्माण भएको संरचनासमेत भत्कन थालेको छ। बधशाला निर्माणमा उपमहानगरले १८ लाख खर्च गरेको छ। सरकारले ६० लाख रुपैयाँ लगानी गरिसकेको छ। पाँच वर्षअघि सरकारले दिएको बजेटबाट प्रारम्भिक काम भएको थियो तर उपमहानगरले निर्माण गरेको संरचना चित्तबुझ्दो नभएपछि समस्या देखिएको हो। बधशाला निर्माणका लागि उपमाहानगरपालिकाले हालको संरचनालाई नै परिवर्तन गर्नुपर्ने सुझाव पशु सेवा विभाले सुझाव दिएको महानिर्देशक प्रेमीले बताए।

उपमहानगरपालिकाले निर्माण सुरु गरेको दुई तल्ले बधशालाको संरचना १ बिघा १८ कठ्ठा क्षेत्रफलमा फैलिएको छ। व्यवस्थित बधशाला बिना सहरी क्षेत्रमा पशु बधशाला तथा मासु जाँच ऐन २०५५ समेत कार्यान्वयन हुन सक्दैन्। उपमहानगरको पशुपंक्षी महाशाखाका प्रमुख हिरालाल यादवले भने विभागका महानिर्देशक प्रेमीको भनाइको खण्डन गर्दै भन्छन्,’बधशाला भवन निर्माण आरम्भ हुँदा महानिर्देशक स्वंयले पनि हेर्नु भएको थियो।

त्यतिबेलै रोक्न भन्नु भएन्। त्यसयता न सरकारबाट बजेट आएको छ। नत उपमहानगरले नै बजेट छुट्याएको छ। त्यही भएर पनि बधशाला अपलत्र बनेको हो।’ विराटनगरमा दैनिक १० हजार केजी माछामासु खपत हुन्छ। तर, बधशाला र व्यवस्थित बिक्री केन्द्रको अस्वस्थ्य मासुको बिक्री विरतण भइरहेको छ।

मासु उपभोगका लागि मारिने पशुपक्षींको सरकारले तोकेको चिकित्सकबाट स्वास्थ्य परीक्षण गराएर पास भएपछि मात्र मार्न तथा काट्न पाइन्छ। तर, ऐनमा उल्लेख भएअनुसार विराटनगरमा पशुको स्वास्थ्य जाँच गराएर कसैले पनि मासु काट्ने गरेका छैनन्। नगरपालिकाले माछा, मासु काट्न नगरका केही क्षेत्रलाई तोकिदिएको भएपनि व्यवसायीले आफूखुसी पसल थापेका छन्। यसरी पसल थाप्दा बजारमा फोहोर र दुर्गन्ध बढेको छ।

उपमहानगरपालिकामा दर्ता गरेर अनुमति लिएर १ सय ६० वटा मात्र मासु पशल सञ्चालित छन्। कतिपय पशलले शिसा र जाली नलगाई मासु बिक्रीवितरण गर्दै आएका छन्। अन्नपूर्णपोष्टबाट


  •  
  •  
  •