अलग भए थबाङ र जेलबाङ

50
  •  
  •  
  •  

काठमाडौं २९ पुस ।
माओवादीको पछिल्लो विभाजनपछि रोल्पामा माओवादी राजनीति तीन भागमा बाँडिएको छ । एमाओवादी, वैद्य र चन्द पक्ष गरी माओवादी कार्यकर्ताहरू तीन पक्षमा विभाजित भएका छन् । वैद्य माओवादीको बाक्लो पकड रहेका गाउँहरू यसपालि विभाजनमा परेका छन् ।

विभाजन जिल्ला तहसम्म आइपुग्दा माओवादी ‘जनयुद्ध’का उद्गम गाउँहरू थबाङ र जेलबाङ पूर्ण रूपमा अलग राजनीतिक ‘लाइन’ मा देखिएका छन् । माओवादीको बाक्लो उपस्थिति रहेको थबाङ र लामो समयसम्म ‘पर्ख र हेर’ को नीति लिएर चुप बसेका जेलबाङ विधिवत् रूपमा फरक लाइनमा विभक्त भएका हुन् । यी दुई गाउँका कार्यकर्ताहरू फरक बाटोमा लागेपछि दुई गाउँको आपसी सम्बन्धसमेत तोडिएको छ । थबाङले नयाँ पार्टी चन्द माओवादीलाई समर्थन गरेको छ भने जेलबाङले मोहन वैद्य पक्षलाई समर्थन गरेको छ । करिब एक महिनाअघि विभाजित दुई माओवादीमध्ये चन्द नेतृत्वले दाङमा प्रथम महाधिवेशन सकेको छ । वैद्य पक्षले चाहिँ गाउँ जागरण अभियानलाई प्राथमिकता दिएको छ ।

पार्टी फुटपछि कसको नेतृत्वमा लाग्ने भन्ने विषयमा जेलबाङले लामो समय मौनता देखाएको थियो । तर, थबाङले भने केहीअघि नै चन्द पक्षलाई समर्थन गरेको थियो । ‘थबाङ घर भएका पूर्वसांसद सन्तोष बुढामगरले नयाँ पार्टीलाई समर्थन गरेकाले यहाँका सबै कार्यकर्ताले चन्द नेतृत्वलाई नै रोजेका हुन्,’ लिबाङस्थित स्थानीयवासी भन्छन्, ‘यी गाउँहरूले वर्षौंदेखि एक/दुईजनाको नेतृत्वलाई नै पूर्ण रूपमा समर्थन र स्वीकार गर्दै आएका छन् । यसपालिको पार्टी फुटमा समेत यही देखियो ।’

पश्चिमका सन्तोष बुढामगर, कुलप्रसाद केसी, नन्दबहादुर बुढा, केशबहादुर बाँठामगर, सुन्दर वली नयाँ पार्टीमा छन् । माओवादीका नवनियुक्त महासचिव चन्द पनि पश्चिमी रोल्पाको इरिबाङमा जन्मेका थिए । यस्तै पूर्व घर भएका चन्द्रबहादुर बुढामगर, आशबहादुर पुनलगायतका नेताहरू वैद्यकै राजनीतिक लाइनमा सक्रिय छन् । पूर्वको फगाम घर भएका केन्द्रीय सदस्य अमर झाँक्रीमगर भने चन्दमा छन् । तर, पश्चिम राङ्सीकी पूर्वसांसद एवं केन्द्रीय सदस्य जयपुरी घर्तीमगर अझै तटस्थ देखिएकी छन् ।

यहीकै कृष्णबहादुर महरा, वर्षमान पुन, ओनसरी घर्तीमगर, नन्दकिशोर पुनलगायत एमाओवादीको राजनीतिमा छन् ।

केही साताअघि गाउँ जागरणको कार्यक्रम लिएर रोल्पा आएका वैद्यपक्षीय पार्टी महासचिव रामबहादुर थापाको उपस्थितिमा सुलिचौरमा भएको कार्यकर्ता भेला र प्रशिक्षणमा जेलबाङका कार्यकर्ता सहभागी भए । ‘जेलबाङका सबैले पुरानै पार्टीलाई समर्थन जनाउनुभयो,’ भेलामा सहभागी वैद्य माओवादीका जिल्ला नेता मणिराम बुढाथोकीले भने, ‘जेलबाङले हामीलाई समर्थन गरेपछि पूर्वी रोल्पा अब वैद्यपक्षीय पार्टीको पकडमा परेको छ ।’ उनका अनुसार भेला र प्रशिक्षणमा जेलबाङ घर भएका चन्द्रबहादुर बुढामगर र जिल्ला नेता आशबहादुर पुनसमेत उपस्थित थिए ।

‘लामो समय मौन बसेपछि हामीले मुख खोलेका छौं,’ पुनले भने, ‘र, हामी पुरानै अडानमा बसेका छौं ।’ पार्टी फुटपछि लामो समय मौन बस्दा दुवै पार्टीका दस्तावेजको अध्ययन गरेको उनले बताए । ‘राजनीति यस्तै हो, विचारका आधारमा लाग्नुपर्छ,’ युद्धमा एउटा आँखा गुमाएका उनले भने, ‘अहिलेसम्म थाङ्नामा सुते पनि सिरकमा सुते पनि सँगै सुतेका थियौं किन छुट्याउने र छुट्टनिे भनेर कार्यकर्ताबीच छलफल गरेर पुरानैमा रहेको जानकारी गरायौं ।’ जेलबाङका सबै कार्यकर्ताले संयुक्त विज्ञप्ति निकालेर सबै पुरानै विचारमा रहेको सार्वजनिक अभिव्यक्ति दिएका हुन् ।

चन्द माओवादीका जिल्ला सचिव केशबहादुर बाँठामगरले एमाओवादी र वैद्य माओवादीको राजनीतिक लाइन सही नभएपछि नयाँ पार्टीको आवश्यकता भएको बताए । ‘आफ्नो पक्षमा बाक्लो समर्थन हुनेमा हामी विश्वस्त छौं,’ उनले भने ।

क्षति व्यहोरेका गाउँ भिन्नै भए

पछिल्लो संविधानसभाका बेला मतदान बहिष्कार गरेका थबाङ र जेलबाङ गाउँहरू माओवादी सशस्त्र द्वन्द्वअवधिका बेला सबैभन्दा बढी क्षति व्यहोर्नेमा पर्छन् । सबैभन्दा बढी मानवीय क्षति जेलबाङले बेहोरेको थियो भने थबाङ लामो समय वैचारिक अडानमा रहन सक्ने गाउँका रूपमा रहेको थियो । गएको निर्वाचनमा शून्य मतदान परिणाम देखाउने थबाङ क्षेत्र नं. २ मा पर्छ भने निकै कम मतदान भएको मध्येमा पर्ने जेलबाङमा ७३ जनाले ज्यान गुमाएका थिए । शान्तिप्रक्रियापछि यी गाउँमा ‘रगतको बदला विकास’ भन्ने नारा लिएर सरकारले सडक निर्माण, बस्ती विकास, शान्ति अभियान र रोजगारी निर्माणलगायतका कार्यक्रम चलाउँदै आएको छ । खामभाषी मगरको बाक्लो बसोबास रहेका थबाङ र जेलबाङलगायतका गाउँसमेत राजनीतिमा विभाजित भएपछि रोल्पाको माओवादी राजनीति अफ्ठयारोमा परेको छ । थबाङ र जेलबाङ एउटै सीमामा छ भने जलजला पहाड दुवै गाविसको साझा स्थान हो ।

एमाओवादीसँगको विभाजनपछि रोल्पाका उत्तरी गाउँहरू वैद्य माओवादीको बाक्लो पकडमा रहेको विश्वास गरिन्थ्यो । फुटपछि पूर्वलडाकु, सहिद परिवार, घाइते-अपांगहरू लगायतको ठूलो संख्याले वैद्यलाई समर्थन गरेको थियो । एमाओवादीसँगको फुटबाट अवसर नपाएका, लामो समय युद्ध लडेका र क्रान्ति अझैं पूरा नभएको विश्वास गर्ने कार्यकर्ताहरू वैद्यमा लागेका थिए ।
कान्तिपुरबाट


  •  
  •  
  •