कोरियामा अवैधानिक नेपालीको संख्या १११७

297
  •  
  •  
  •  

काठमाडौं । दक्षिक कोरिया, ६ जेठ- रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत दक्षिण कोरिया आएका नेपालीमध्ये १ हजार १ सय १७ जना अवैधानिक रूपमा लुकिछिपी बसिरहेको तथ्य खुलेको छ । सोल अध्यागमन विभागका अनुसार भिसाबिनै कोरियामा काम गर्ने आप्रवासीको संख्या ५२ हजार ५ सय ६२ छ । तुलनात्मक रूपमा नेपालीको संख्या न्यून हो ।
विभागले प्रकाशन गरेको तथ्यांकअनुसार ईपीएसमार्फत प्रवेश गरेका १८ हजार ८ सय नेपालीमध्ये १ हजार १ सय १७ को भिसा अवधि सकिएको छ । वैधानिक रूपमा काम गर्नेको संख्या १७ हजार ६ सय ८३ छ ।
ईपीएसमार्फत कोरिया आएका १५ मुलुकका कामदारमध्ये सबैभन्दा धेरै कोरियन–चाइनिज अवैधानिक छन् । दोस्रोमा चिनियाँ र तेस्रोमा भियतनामी छन् । सबैभन्दा कम कम्बोडियाका छन् ।
साना तथा मझौला उद्योगमा आप्रवासी कामदार पूर्ति गर्न सरकारले औद्योगिक प्रशिक्षण प्रणाली संशोधन गर्दै सन् २००४ अगस्टबाट ईपीएस लागू गरेको थियो, जसमार्फत १५ मुलुकबाट २ लाख ४६ हजार ६ सय २२ कामदार आएका छन् । कोरियामा अहिलेसम्म आएका १६ लाख ९ हजार ६ सय ७० आप्रवासीमध्ये १ लाख ८४ हजार १ सय ४६ अवैधानिक रूपमा बसिरहेका छन् । आप्रवासी मजदुरको संख्या भने ६ लाख ७० हजार छ, जसमा ४ लाख २६ हजार अदक्ष ई–९ र एच २ भिसावाहक छन् ।
कोरियामा सबैभन्दा धेरै संख्यामा रहेका ४ लाख ९७ हजार ३० चिनियाँ नागरिकमध्ये ३२ हजार ६४ अवैधानिक छन् । ३ लाख ३५ हजार २ सय ७८ कोरियन–चाइनिजमा १५ हजार ५ अवैधानिक छन् । १ लाख ३९ हजार १ सय ९ अमेरिकन नागरिकमध्ये ३ हजार ३ सय ८३ तथा तेस्रोमा १ लाख २० हजार ६० भियतनामी नागरिकमध्ये २५ हजार ६ सय ६४ अवैधानिक छन् ।


  •  
  •  
  •