काठमाडौं । अब वैदेशिक रोजगारका नाममा ठगी गर्नेलाई तत्काल कानूनी कारबाही हुने भएको छ । वैदेशिक रोजगार ठगी नियन्त्रण गर्न वैदेशिक रोजगार विभागले शीघ्र प्रत्यूत्तर टोली (आरआरटी) गठन गरेको छ ।
वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न इजाजतपत्र नलिई कुनै व्यक्ति वा संस्थाले ठगी गरेको पाइएमा त्यस उपर तत्काल कानुनी कारबाही अघि बढाउन आरआरटी गठन गरेको विभागले जनाएको छ ।
टोली गठन गरेपछि विभागले वैदेशिक रोजगारीको इजाजत नलिई कुनै व्यक्ति, समूह वा संस्थाले वैदेशिक रोजगारीमा पठाई दिने भनि आश्वासन दिई प्रलोभनमा पारिरहेको, रकम असुल गरेको, विदेशमा लगि अलपत्र पारेको वा श्रम स्वीकृति नलिई भिजिट भिसा लगायतका अन्य भिसामा वैदेशिक रोजगारीमा पठाएमा टोलीलाई खबर गर्न विभागले अनुरोधसमेत गरेको छ ।
यस्ता सूचना लिनका लागि विभागले टोलीको इमेल ठेगाना र मोवाइल नम्बरसमेत छुट्टै व्यवस्था गरेको छ । कसैले यस्ता प्रलोभन देखाएर ठगी गर्न खोजेमा वा यस्ता ठगी बारे कुनै जानकारी भएमा rr@feo.gov.np वा dg@dofe.gov.np मा इमेल तथा ९८५१३३४१०७ नम्बरमा सम्पर्क गर्न विभागले आग्रह गरेको छ ।