काठमाडौं २१ जेठ (ओएनएस) : रोजगारीका लागि बिनाश्रमस्वीकृति बिदेसिएका ५३ हजार ५ सय ४ नेपाली युवा वैध भएका छन् । उनीहरू एजेन्टमार्फत भारत हुँदै विदेश गएका थिए । अवैध हुँदा उनीहरू सामाजिक सुरक्षा र सरकारी तथ्यांकभन्दा बाहिर थिए । लुकेरै काम गर्दा कदाचित मृत्यु भए परिवारहरू बिमाबापतको ५ लाख र वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको क्षतिपूर्तिबाट वञ्चित रहँदै आएका थिए । सरकारको तथ्यांकमा नदेखिने भएकाले समस्या पर्दा उद्धार गर्नसमेत अप्ठ्यारो थियो ।
त्यही कारण अवैध कामदारलाई वैध बनाइएको वैदेशिक रोजगार विभागले जनाएको छ । नेपालबाट अवैध रूपमा गए पनि उनीहरू गन्तव्य मुलुकमा भने वैध थिए ।“त्यस्ता कामदारको तथ्यांकै नहुने हुँदा विदेशमा कति कार्यरत छन् भन्नेमा यकिन हुन सकिएको थिएन,” विभाग प्रवक्ता बर्दीकुमार कार्कीले भने, “पहिले अवैध ढंगबाट गएका कामदारले पुनः त्यही मुलुक र कम्पनीमा जान निवेदन दिए उनीहरूलाई वैधानिक रूपमा श्रमस्वीकृति दिइरहेका छौं, वैध भएपछि अप्ठ्यारोमा उद्धार गर्न र क्षतिपूर्ति दिन सजिलो हुन्छ ।”
चालू आवका १० महिनामा १ लाख ५० हजार १ सय ६९ कामदारले पुनः श्रमस्वीकृति लिएका छन् । वैध हुनेमा ४७ हजार ६ सय ७२ पुरुष र ५ हजार ८ सय ३२ महिला छन् ।
सबैभन्दा बढी कतारमा वैध भएका छन् । त्यहाँ अवैधानिक रूपमा बसेका १८ हजार १ सय ५३ कामदारलाई विभागले श्रमस्वीकृति दिएको छ । साउदी अरबमा १० हजार १ सय ५६, संयुक्त अरब इमिरेट्स (यूएई)मा ९ हजार ४ सय ३८, कुवेतमा ४ हजार ३ सय ३ र मलेसियामा २ हजार ९ सय ५९ कामदार वैध भएका छन् । सबैभन्दा बढी नेपाली रहेको मलेसियामा अवैधको संख्या थोरै देखिएको छ ।
घर बिदामा फर्केर पुनः श्रमस्वीकृति लिने एकतिहाइ अवैध कामदारलाई वैधानिक रूपमा स्वीकृति दिइएको कार्कीले बताए । “यो तथ्यांकलाई आधार मान्दा विदेशमा धेरै नेपाली अवैध रूपमा गएको देखिन्छ,” उनले भने, “अब त्यो क्रम घट्ने हाम्रो विश्वास छ ।”
“जानकारी अभावमा बिनाश्रमस्वीकृति विदेश जाने प्रवृत्ति देखिन्छ,” कार्कीले भने, “अहिले अवैध ढंगबाट गए बिमा र क्षतिपूर्ति नपाउने सूचना प्रचारप्रसार भइरहेकाले त्यस्तो संख्या घटेको छ ।”