हेपाइविरुद्ध सडकमा रोपाइँ

122
  •  
  •  
  •  

काठमाडौं २६ असार ।
भनिन्छ, अति गरे पनि अतिसार नगर्नु! हेपेको सहने पनि सीमा हुने रहेछ। सिनामंगल–बानेश्वर–मैतीदेवी सडक खण्डमा सरोकारवाला निकाय र जिम्मेवार निर्माण कम्पनीले अति नै गरे। दुई किलोमिटर सडक विस्तारको काम दुई वर्षसम्म सकिएन।

अति भएपछि बिहीबार र शुक्रबार स्थानीय त्यही हिलो सडकमा ओर्लिए। बूढापाका, केटाकेटी, युवा, गृहिणी सबै ढोकै बन्द गरेर सडकमा आएर बाउसे थाले, धानका ब्याड मगाएर बिहीबार रोपाइँ पनि गरे।

निर्माणधीन बाटोमा स्थानीयले बालेको टायर निभाउँदै प्रहरी। तस्बिर : प्रतीक रायमाझीसरोकारवालाको अझै चासो नदेखिएपछि शुक्रबार झन् धेरै सडकमा ओर्लिएर आक्रोश पोखे। उनीहरुले नाराबाजी, हिलोमै टायर बाल्ने र झार रोप्नेलगायत विरोध जारी राखे। अन्ततः प्रहरीले शुक्रबार निर्माण कम्पनीका प्रतिनिधि बोलाएर तत्काल सडक निर्माण सक्ने सहमति गराएको छ।

सरकारी निकाय, स्थानीय र ठेकेदार प्रतिनिधिबीच दुई दिनभित्र हिलो पन्छाएर सडक बेस तयार गर्ने र तीन दिनसम्म पानी नपरे पिच सुरु गरिहाल्ने भएको छ।

दुई वर्षअघि सडक विस्तार क्रममा भत्काएर खाल्डैखाल्डा पारिएको सडक हिलोले हिँड्नै हम्मे छ। सार्वजनिक सवारीसाधनको सुविधा खोसिएको त दुई वर्ष नै भइहाल्यो। बूढाबूढी हिँड्नै नसक्ने, केटाकेटी पार गर्ने नसक्ने, कतै खहरेजस्तो, कतै पोखरी त कतै बगरजस्तो सडक स्थानीय बासिन्दा, व्यापारी र बटुवाको टाउको दुखाइ बने पनि कसैले वास्ता गरेन।

ठेकेदार कम्पनीको लापरबाहीले लामो समयदेखि धुलो र हिलो खेप्दै आएका पुरानो बानेश्वरबासीको आक्रोशले अन्ततः निर्णायक मोड लियो।

‘बच्चाहरुलाई स्कुल जान समस्या छ, बूढापाका सडकमै लड्न थालेका छन्,’ स्थानीय पसले उत्तमराज खड्काले भने, ‘अति भएर सडक आन्दोलनमा ओर्लिएका हौं।’

शुक्रबार बिहानै बालबालिकादेखी वृद्धवृद्धासम्म ढोका बन्द गरेर सडकमा ओर्लिएर नाराबाजी गरेको उनले सुनाए। सडक अवस्थाले स्थानीयको व्यापार व्यवसाय वर्षौंदेखि चौपट बन्दै आएको उनले बताए।

सडकको अवस्थाबारे विभिन्न निकायमा कुरा राख्दा ‘हुन्छ–हुन्छ’ भन्ने जवाफ मात्र आउने तर काम भने नहुने उनले सुनाए। ‘सहनुको पनि सीमा नाघेपछि स्वतस्फूर्त रुपमा सर्वसाधारण सडकमा निस्कियौँ,’ उनले भने, ‘यो सर्वसाधारणलाई हेपिरहे त्यसको परिणाम के हुन्छ भन्ने सांकेतिक सन्देश पनि हो।’ उनीहरुले कालो झन्डा प्रदर्शनका साथै हिलाम्मे बाटोमा टायरसमेत बालेका थिए।

सर्वसाधारण ओइरिएर बानेश्वर चोकसम्म जाम भएपछि शुक्रबार मध्याह्न प्रहरीले हस्तक्षेप गरेको थियो। त्यस क्रममा सर्वसाधारण घाइतेसमेत भए। जायज माग राख्दा प्रहरीले लाठी प्रहार गरेको सर्वसाधारणले गुनासो गरे। प्रहरीले भने सडक खुलाउन सामान्य बल प्रयोग गर्नुपरेको बतायो।

‘सडक खुलाउन हामीले सामान्य बल प्रयोग गरेका हौं,’ गौशाला वृतका डिएसपी राकेश सिंहले भने।

स्थिति तनाबग्रस्त भएपछि प्रहरीले स्थानीय प्रतिनिधि र ठेकेदार पक्षका प्रतिनिधि बोलाएर वार्ता गराएको थियो ।

दुई दिनभित्र (आइतबार बेलुकासम्म) हिलो पन्छाएर बेसको काम सकाउने र तीन दिनसम्म पानी नपरे पिच हाल्न थाल्ने सहमति भएको वार्तामा सहभागी काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका प्रमुख प्रभात झाले बताए।

सडक निर्माणको जिम्मा पाएको कम्पनी ‘लामा बिल्डर्स–बिरुवा–च्याङमिला’ कै ढिलाइले यो समस्या आएको हो। व्यस्त क्षेत्रको यो सडक निर्माणका लागि कम्पनीले करिब ९ करोड ६४ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको छ। गत असार १३ मै सक्नुपर्ने सडक निर्माण ५० प्रतिशतमात्र काम भएको छ।

तोकिएको समयमा काम सम्पन्न गर्न नसके पनि आयोजनाले कम्पनीलाई निमयअनुसार कुनै कारबाही गर्न सकेको छैन।

कम्पनीलाई काम छिटो सक्न दबाब दिइरहेको आयोजना प्रमुख झाले बताए। ‘काम अगाडि बढाउने प्रक्रियामा थियौं,’ उनले भने, ‘यसै बीचमा आन्दोलन भयो र थप चाँडो काम गर्ने सहमति बन्यो।’ असारभित्र बागमती पुलदेखि पुरानो बानेश्वर–सेतो पुलसम्म कालोपत्रे गरिसक्ने गरी कम्पनीले काम अगाडि बढाएको उनले जनाए।
नागरिकबाट


  •  
  •  
  •