मूल सडक छलेर नेताका दैलोदैलोमा कालोपत्रे

90
  •  
  •  
  •  

काठमाडौं २३ कात्तिक ।
बालुवाटारको उपहारमार्गको मूल सडक धुलाम्मे छ। गत चैतमा विस्तारका लागि भत्काइएको यो सडकनजिकै एउटा सहायक मार्ग भर्खरै कालोपत्रे गरिएको छ। करिब २५ मिटर कालोपत्रे गरिएको त्यो मार्ग सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालको घरको दैलोमा गएर टुंगिन्छ। मूल सडकको बायाँतर्फबाट ६० मिटर दूरीमा अर्को सहायक बाटो आउँछ। करिब ३० मिटर कालोपत्रे गरिएको त्यो बाटो संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङको घरको दैलोमा टुंगिन्छ।

मूल सडक छलेर नेताद्वय नेम्बाङ र रिजालको दैलोसम्म पुगेर टुंगिने सडक गत बिहीबार महानगरपालिकाले कालोपत्रे गरिदिएको हो। उपहारमार्ग आसपासका बासिन्दाका अनुसार उनीहरूले ठेकेदार कृष्णप्रसाद चौलागाईंलाई मूल सडक पनि कालोपत्रे गर्न आग्रह गर्दा उनले ‘हामीलाई यतिमात्रै कालोपत्रे गर्नु भन्ने माथिको आदेश छ’ भनेका थिए। स्थानीयले यसलाई सार्क सम्मेलन र सत्तामा भएको मौकामा चौका हानेको रूपमा लिएका छन्।

करिब चार मिटर चौडा भएको उपहारमार्गको मूल सडक अहिले फराकिलो पारेर ६ मिटर बनाइएको छ। तर कालोपत्रे गरिएको छैन। सोही बाटोबाट दायाँ मन्त्री रिजालको घर जाने बाटो छ भने रिजालको घरभन्दा मूल बाटोको बायाँतर्फबाट सभामुख नेम्बाङको घर जाने बाटो छुट्टिएको छ।

नेम्बाङ र रिजाल सरकारी सुविधासहित क्वाटरमा बस्दै आएका छन्। अन्नपूर्णकर्मी शनिबार मन्त्री रिजालको घरमा पुग्दा त्यहाँ सुरक्षा गार्डमात्रै थिए भने नेम्बाङको घर सुनसान थियो।

पटकपटक महानगरपालिकासँग हारगुहार गर्दा पनि मूल सडक कालोपत्रे गर्न उसले चासो नदेखाएको स्थानीयको गुनासो छ। त्यसो त नेम्बाङ र रिजालको घर पुग्न धुलाम्मे मूल सडक पार गरेर जानुपर्छ। मूल सडक धुलाम्मे छ तर सोही मार्ग भएर गएको सहायक बाटो कालोपत्रे गरिएकोमा स्थानीयले आक्रोश व्यक्त गरेका छन्।

सञ्चारमन्त्री मिनेन्द्र रिजालको घर जाने भित्री सडकमा गरिएको कालोपत्रे

‘सत्तामा बस्नेले शक्तिको आडमा जे गरे पनि हुँदो रहेछ। हामी धुलो चाट्ने, उहाँहरू लाजै नमानी दैलोमा कालोपत्रे गर्न लगाउने, गणतान्त्रान्त्रिक मुलुकमा जनताले पाउने यही हो?’ मन्त्री रिजालका छिमेकी किशोरलाल श्रेष्ठले भने, ‘रिजालको दैलोअगाडि पिच गर्न लाग्दा हामीले अरू २५ मिटर अगाडि गरिदेऊ भन्दा ठेकेदारले टेरपुच्छर लगाएनन्, महानगरपालिकाको आदेशमा यति मात्रै छ भनेर उल्टै हपारे।’

ठेक्केदार चौलागाईंले आफूले काठमाडौं महानगरपालिकाको निर्देशनमा ती दुवै सडक कालोपत्रे गरेको बताए। उनले भने, ‘मैले महानगरपालिकाबाट ठेक्का पाएर दुवै सडकमा कालोपत्रे गरेको हो। मैले यसबारे महानगरपालिकासँग बुझ्न स्थानीयलाई आग्रह गरेको हुँ।’

महानगरपालिका भौतिक पूर्वाधार निर्माण विभागका प्रमुख सञ्जयराज उपाध्यायले उक्त सडक खण्डमा कालोपत्रे गर्ने जिम्मेवारी साइडट इन्जिनियर भैरव बोगटीलाई दिइएको जनाए। उनले कालोपत्रेबारे विस्तृत जानकारी तिनै इन्जिनियरसँग लिन आग्रह गरे।

बोगटीले भने आफू साइट इन्जिनियर नभएको र आफूलाई महानगरपालिकाले कुनै जिम्मेवारी नदिएको बताए। उनले साइट इन्जिनियर भूपेन्द्र मास्केको नेतृत्वमा सडक कालोपत्रे गरिएको बताए। मास्केले भने ती दुवै सडक खण्डमा आफूलाई जानकारीबेगर ठेकेदारले कालोपत्रे गरेको जानकारी दिए। ‘मेरो अनुमतिबेगर ठेकेदारले कसरी कालोपत्रे गर्‍यो, मलाई पनि थाहा छैन। मेरो रेखदेखमा कालोपत्रे हुनुपर्ने हो। तर ती दुवै सडक कालोपत्रे भएको मलाई जानकारी छैन। म यो विषयमा बुझ्छु।’

उपत्यका सडक विस्तार आयोजनाले मैतिदेवी-ज्ञानेश्वर, सिनामंगल-पुरानो बानेश्वर-डिल्लीबजार-पुतलीसडक, धुम्बाराही- मन्डिखाटार-गल्फुटार, बल्खु, मीनभवन, पुतलीसडक-बागबजार, जडिबुटी-पेप्सीकोलालगायतका सडक खण्ड भत्काएर अलपत्र छाडेको छ। यी राजधानीका अति व्यस्त सडक हुन्। भत्काइएका सडक बेलैमा पुनर्निर्माण नगरिँदा यात्रुलाई सास्ती मात्र होइन महानगरको सौन्दर्यमा पनि ह्रास आएको छ। अन्नपूर्णपोष्टबाट


  •  
  •  
  •