काठमाडौं, २१ मंसिर(ओएनएस) : शनिबार दिनदहाडै काडमाडौंको मैतीदेवीस्थित धनुषाकी छात्रा रीतु महासेठको हत्याको विरोधमा धर्ना र प्रदर्शन गरिएको छ ।
प्रदर्शन कार्यक्रममा विभिन्न विद्यार्थी संगठनहरु, मधेशी युवा नेता, नागरिक अधिकारकर्मी, सञ्चारकर्मीलगायतले धर्ना र प्रदर्शन गरेका छन् । हत्यारालाई कारबाही गर, शान्ति सुरक्षा कायम गर लगायतका नारा लगाउँदै सिंहदरबारको हनुमानस्थानचौकमा आइतबार २:३० बजेदेखि ३ बजेसम्म धर्ना कार्यक्रम गरिएको थियो ।
तराई–मधेश लोकतान्त्रिक पार्टीका युवा नेता तथा सहमहामन्त्री जितेन्द्र सोनलले, “दिनदहाडै एउटा मधेशी महिलाको हत्या हुन्छ तर, राज्य हातमा हात राखेर बसिरहेका छन्, मधेशी मूलकी छात्राको हत्या भएको २८ घण्टा बितिसक्दा दोषी पक्राऊ हुन सकेको छैन ।”सोनलले सरकारले तुरून्त अपराधीलाई पत्ता लगाउनुपर्ने बताएका छन् ।
प्रदर्शनकै क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप पनि भएको थियो ।