प्रेम प्रस्ताव अस्वीकार गरेपछि रितुको हत्या भएको खुलासा

179
  •  
  •  
  •  

काठमाडौं, २५ मंसिर (ओएनएस) : गत शनिबार मैतीदेवीमा छुरा प्रहारगरि एक युवतीलाई हत्या गर्नुको रहस्य खुलेको छ । हत्याको अभियोगमा पक्राउ परेका विमलेश प्रसाद यादवले प्रेम प्रस्ताव अस्वीकार गरेकोले रितु महासेठको हत्या गरेको बयान दिएका छन् ।

प्रहरीले पक्राउ गरि बिहिबार सार्वजनिक गरेपछि धनुषा तुलसियाही जब्दीका यादवले आफुले रितुलाई विगत लामो समयदेखि मन पराउँदै आएको बताउँदै रितुले प्रेम अस्वीकार गरेपछि हत्या गरेको स्वीकार गरेका छन् । यादवले करिब ५ बर्षअघि रितुको घरमा ट्याक्टर ड्राइभर भएर काम गरेका थिए ।

उक्त समयदेखि यादवले रितुको पिछा गर्न थालेको प्रहरीले जानकारी दिएको छ । साथै रितु स्कुल पढ्ने बेलादेखि यादवले मन पराउने गरेको यादवले बयान दिएका छन् ।

हाल काठमाडौंको एक कारखानामा काम गर्दै आएका यादव रितुले एसएलसी पास गरेपछि पछ्याउदै काठमाडौं सम्म आएका थिए । काठमाडौ आएपछि यादवले रितुलाई आफुसँग सम्बन्ध राख्न पटक–पटक दबाब दिएको प्रहरीले जनाएको छ ।
गत शनिबार साथीको विवाहको लागि जाँदै गर्दा २० बर्षिया रितुलाई यादवले अन्धाधुन्द छुरी प्रहरी गरि मैतीदेवीमा विभत्स हत्या गरेका थिए ।

कान्तिपुर कलेजमा बीबीएमा पढ्दै गरेकी रितु एफएनएफ गल्र्स होस्टलमा बस्दै आइरहेकी थिइन् । रितुलाई हत्या गरेपछि यादव ट्याक्सीबाट भागेर बाजालु क्षेत्रमा लुकीछिपी बसेको प्रहरीले जनाएको छ ।


  •  
  •  
  •