बौद्ध धर्मगुरु श्यामर रिम्पोचेको अन्तेष्टि आज

165
  •  
  •  
  •  

काठमाडौं १५ साउन (ओएनएस) :
दुई महिनाअघि जर्मनीमा निधन भएका बौद्ध धर्मगुरु श्यामर रिम्पोचेको अन्तेष्टि आज नेपालमा हुँदैछ । लामो विवाद र छलफलपछि उनको शव मंगलबार काठमाडौं ल्याइएको हो । रानीवनस्थित सर्मिनाभ गुम्बामा आज उनको समाधि गरिनेछ । निधन भएको ४९औँ दिनका अवसरमा १५ साउनमा रानीवनस्थित सर्मिनाभ गुम्बामा उनको समाधि गरिदै छ । उनको शव भुटानबाट ल्याइएको हो ।

मंगलबार भुटानका राजा जिग्मी गेसर नाम्ग्याल वाङचुकले रिम्पोचेको अन्तिम दर्शन गरेपछि विशेष विमानबाट शव काठमाडौं ल्याइएको हो । हिजो बवको दर्शन गर्न हजारौ उनका अनुयायीहरु रानीबन पुगेका थिए । त्यसअघि उनको शव भारतको कालिम्पोङमा राखिएको थियो ।स्वदेशी तथा विदेशबाट आएका उनका अनुयायी तथा सर्वसाधारणको रिम्पोछेको दर्शन गर्न ठुलो घुँइचो लागेको थियो । गुम्बा परिसरमा धर्मगुरुहरुले ‘मोलाम’ पुजा गरेका छन् । बुधवार रातिसम्म रिम्पोछेको शव अन्तिम दर्शन गर्नकोलागि राखिएको थियो । आज विषेश कार्यक्रम सहित श्यामार्पाको शव गुम्बा परिसरमा अन्तेष्टि गर्ने कार्यक्रम रहेको छ ।

सुरुमा गृह मन्त्रालयले ल्याउन नदिने निर्णय गरे पनि प्रधानमन्त्री सुशील कोइरालाको चाहनाअनुसार शव ल्याइएको हो । त्यसका लागि प्रधानमन्त्री कार्यालयका सचिव राजुमान सिंह मल्लको संयोजकत्वमा परराष्ट्र, गृह र पर्यटन तथा संस्कृति मन्त्रालयका प्रतिनिधि रहेको कार्य दलले आवश्यक कानुनी प्रक्रिया पूरा गरेको थियो । शव ल्याउन अनुमति दिनकै लागि मन्त्रिपरिषद्को मंगलबार आकस्मिक बैठक बसेको थियो ।


  •  
  •  
  •